लुम्बिनीमा 'विश्व शान्ति कार्यक्रम' सुरु

इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनले भने, 'हामी विभिन्न देशबाट आएका छौं, सबैको चाहना शान्ति नै हो ।'

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

'World Peace Program' begins in Lumbini

What you should know

लुम्बिनी — लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ बिहीबार सुरु भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गरे ।

कार्यवाहक मेयर हरिजनले यस क्षेत्रमा रहेका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागू गर्न पहल गरिने बताइन्। 'विश्वका नगरपालिका धेरै छन् तर बुद्ध जन्मस्थल एक मात्रै छ। विश्व शान्ति समृद्धिका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण छन्,' उनले भनिन् । 

पहिलो दिनको कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरे । ताम्रतले भने, 'विभिन्न देशबाट हामी आएका छौं, हामी सबैको चाहना नै शान्ति हो ।'

जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १० हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिए । 

यस्तै, अभिनेता राजेश हमाल, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झुले 'किनोट स्पिच' दिए। हमालले नेपालीहरूमा निराशा भए पनि हाँसेर बोल्ने ठूलो सम्पत्ति भएको बताए। 'मेरा फिल्मका द्वन्द्व केही क्षणका लागि हुन्, तर समाजमा द्वन्द्व भइरहन्छ,' उनले भने, 'शान्तिका लागि हामी सबैले काम गर्नुपर्नेछ ।'

कार्यक्रममा सागर भन्तेले लुम्बिनीभित्र दुईवटा लुम्बिनी रहेको भन्दै विकास कोषभन्दा बाहिरका बासिन्दाको उन्नतिका लागि अब काम गर्नुपर्नेमा जोड दिए । 'लगानी गर्न विश्वका धनाढ्य बुद्धिस्ट इच्छुक छन् । स्थानीय निकायसँग समन्वय गरी कानुन अनुसार काम गर्न सकिन्छ,' उनले भने ।

कार्यक्रममा नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता छ ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस हुनेछ। स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजलाई पनि कार्यक्रममा समेटिने कार्यक्रम संयोजक शेखर गौतमले बताए ।

कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि सञ्चालन हुनेछन् ।

कान्तिपुर

Link copied successfully