राजापुर गोलीकाण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ

दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । 

मंसिर २५, २०८२

रामप्रसाद चौहान 

Main accused in Rajapur shooting case arrested from Kailali

बर्दिया — राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन् । दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । 

यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टकी सञ्चालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गोलीकाण्ड घटनामा शंका गरिएका मुख्य आरोपी चौधरीलाई कैलालीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

गत आइतबार गोली प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का २७ वर्षीय निरज थारूको मृत्यु भएको थियो । राजापुर नगरपालिका-४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा आइतबार बिहान ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए । नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक थारूको दुवै कानको तल प्वाल देखिएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ । घटना किन र कसरी भयो भन्ने विषयमा अझै खुलेको छैन । राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा निरज थारू काम गर्दै आएका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully