नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेकाे हाे ।
नेपालगन्ज — पुष पहिलाे साता नेपालगन्जमा आयाेजना गरिएकाे नेपाल-भारत ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ काे तयारीमा यहाँका पर्यटन व्यवसायी जुटेका छन् ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४ देखि ६ मा कन्क्लेभ हुन लागेकाे हाे ।
बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन गर्न कन्क्लेभ आयोजना गरिन लागेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ यहाँका समग्र पर्यटन व्यवसायीको साझा कार्यक्रम हामीले संयोजन गर्दैछौं,’ उनले भने, ‘पर्यटकीय गतिविधि चलायमान बनाउन सबै पर्यटन व्यवसायीकाे साझेदारी पनि महत्वपूर्ण छ ।’
नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले दुवै देशको पर्यटन व्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा सीमा क्षेत्रमा आउने गरेका समस्या समाधानका लागि नीति, निर्माता बीच बृहत रुपमा छलफल हुने बताए ।
नेपालगन्ज ट्रान्जिट मात्रै नभएर अब पर्यटकीय हब तथा गन्तब्यका रुपमा चिनाउन भारतीय पर्यटन व्यवसायी, सरोकारवाला बीच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ उपयोगी हुने उनले बताए ।
पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ कन्क्लेभ सफल पार्न यहाँका सबै पर्यटन व्यवसायी र सरोकारवाला एकमत हुनुपर्ने बताए ।
