कपिलवस्तु कांग्रेसमा उम्मेदवार सिफारिसको रस्साकस्सी

संस्थापन र इतर पक्षबीच आफ्ना निकटकै उम्मेदवार सिफारिस गराउने प्रयास सुरु भएको छ।

मंसिर २३, २०८२

मनोज पौडेल

Candidate recommendation tug-of-war in Kapilvastu Congress

What you should know

कपिलवस्तु — प्रतिनिधिसभा पुन:स्थापना मुद्दा अदालतमा रहेको बेला कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । संस्थापन र इतर पक्षबीच आफ्ना निकटकै उम्मेदवार सिफारिस गराउने प्रयास सुरु भएको छ।

सोमबार क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठक तौलिहवा जिल्लास्तरीय पार्टी कार्यालयमा बसेर सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रवीन्द्रनाथ ठाकुरको नाम सिफारिस भएको छ। आचार्य, थापा र ठाकुर संस्थापन इतर पक्षका हुन् भने शर्मा संस्थापन पक्षमा छन्।

समानुपातिकतर्फ मिना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुपूसाद धोबी तथा राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारू, रेश्मीराज अधिकारी र दिपेन्द्रनाथ शुक्लाको नाम सिफारिस भएको छ । समानुपातिक र राष्ट्रिय सभा उम्मेदवारमध्ये अधिकांश संस्थापन इतर पक्षका छन्।

क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार कानोडियाको एकल नाम सिफारिस भएको छ। उनले पूर्वमा जिल्ला विकास समिति उपसभापति, सांसद, प्रदेशसभा सदस्य र राज्य मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्। समानुपातिक उम्मेदवारका लागि ब्रह्मानन्द उपाध्याय, अखिल मिया र तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाइने निर्णय भएको छ।

क्षेत्र नं. १ मा भने बैठक स्थगित भएको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहको नाम प्रत्यक्षतर्फ सिफारिस हुन नसक्दा प्रभाव क्षेत्र नं. १ मा परेको छ।

क्षेत्रीय सभापति अब्दुल मन्नान खानका अनुसार बुधबार बैठक बसेर टुंग्याइनेछ। संस्थापन इतर पक्षमा पनि विभाजन रहेको छ, क्षेत्रीय समितिमा पूर्वमन्त्री दीपकुमार उपाध्याय पक्षको बहुमत  छ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully