राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनेमिया परीक्षण गर्दै

दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई अबदेखि प्रतिष्ठानमा सिकलसेल एनेमिया रोग परीक्षण हुने जानकारी दिइसकेको प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए ।

मंसिर २१, २०८२

दुर्गालाल केसी

Rapti Institute of Health Sciences is testing 5,000 people for sickle cell anemia

What you should know

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले ५ हजार जनामा सिकलसेल एनेमियाको परीक्षण गर्ने भएको छ । प्रतिष्ठानमा सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलोपटक ५ हजार जनामा परीक्षण गर्न लागिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।

परीक्षण अभियान शनिबारदेखि नै सुरु भैसकेको उनले बताए । 

प्रतिष्ठानले हाल सिकलसेल एनेमिया भएका ३ सय १५ जनालाई उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक वर्षदेखि ६५ वर्षसम्मका बिरामी छन् । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने केही योगी र दलित समुदायमा पनि देखिएको लम्सालले बताए । ५ हजार जनामा हुने परीक्षणबाट जिल्लामा सिलसेल एनेमियाको अवस्थाबारे जानकारी हुने र आगामी योजना निर्माणमा पनि यसले सहयोग गर्ने उनको भनाइ छ । 

दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई अबदेखि प्रतिष्ठानमा सिकलसेल एनेमिया रोग परीक्षण हुने जानकारी दिइसकेको प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले बताए । सिकलसेल एनेमिया परीक्षणका लागि यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब प्रतिष्ठानमै नियमितरुपमा सञ्चालन हुने उनले जानकारी दिए ।

‘सिकल’ भनेको हँसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । सिकलसेल भएको रक्तकोषिकालाई फाल्सीपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैन । मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ । आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनेमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको डा. पन्थीले बताए । उनका अनुसार यो पूर्णतया वंशाणुगत रोग हो । अहिलेसम्म देखिएका मध्ये दाङ, कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रक्तअल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड, करङ र पेट दुख्ने गर्छ । धेरै पीडा हुन्छ र जण्डिस पनि देखा पर्छ ।

जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिका सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गरेको पन्थीले बताए । उनका अनुसार यस रोगबाट पित्तथैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।

समयमा रोगको उपचार भयो भने चाँडै निको हुन सक्छ । यस रोगका बिरामीको पाचनशक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई–दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्ने डा. पन्थीले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully