पाणिनि–१ सिम्लेमा सुन्तलाबाट हरेक वर्ष आम्दानी बढिरहेकाे देखेपछि छिमेकी गाउँका किसानले पनि सुन्तला खेती विस्तार गरेका छन् ।
What you should know
अर्घाखाँची — पाणिनि गाउँपालिका–१ पणेनाका युवा रेवती भट्टराईको बारीमा सुन्तलाका ५ सय ३५ बोटले फल दिन्छन् । गत वर्ष १ सय ७० क्विन्टल बिक्री गरेका उनले ९ लाख रुपैयाँको कारोबार गरेका थिए । यसपालि केही नयाँ र पुराना बोटमा लटरम्मै फलेकाले २ सय क्विन्टलसम्म उत्पादन हुने अनुमान उनको छ ।
बोटमा पाकेका दाना टिपेर बजार बेच्न सुरु भएको छ । बुटवलका व्यापारी जीवलाल पाण्डेले उनकाे बारीमा रहेका सुन्तला पाक्नुअगावै बुकिङ गरिसेका छन् । ‘हामीले उत्पादन गर्ने मात्रै हो, व्यापारी त हरियो दाना लाग्दै घरमै आएर बुकिङ गरिहाल्छन्,’ उनले भने, ‘बुकिङ गरेका बोट रेखदेख गरेर दाना जोगाइदिने मात्रै हो । क्यारेटमा प्याकिङ गर्ने गरी पुस १५ बाट सुन्तला टिप्ने कुरा छ, केही त टिपेर बजार पठाइरहेका छौं ।’
बोटबाट टिपेपछि क्यारेटमा प्याकिङ गरेर गाडीबाट बुटवलमा तिनै व्यापारीले लैजाने गर्छन् । टिप्ने बेलामा सुन्तलाको थोक मूल्यको मोलतोल हुन्छ । गत वर्ष फुटकर प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको थियो । अहिले ७० मा बिक्री भइरहेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि उनी केही वर्ष वैदेशिक रोजगारीमा थिए ।
दशकअघि घर फर्केर अन्न फल्ने बारीमा सुन्तला लगाएका थिए । बजार राम्रो भएकाले सबै बारीमा उनले सुन्तलाका बोट रोपेका छन् । सुन्तलाको कमाइबाट भट्टराईले सिम्लेमै अढाई तले पक्की घर बनाएका छन् । ‘विदेश भन्दा त यहीँ सुन्तला खेतीबाट जीवन फेरियो,’ उनले भने, ‘जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने छैन । हरियो दाना छँदै व्यापारी घरमै आएर बोट बुकिङ गर्छन्, बेच्नको लागि बजार धाउन पनि परेन ।’
कृषि प्राविधिकबाट अवकाश भएपछि दधिराम गौतम पाँच वर्षदेखि घरमै सुन्तला खेतीमा रमाएका छन् । पेन्सन भन्दा सुन्तलाको आम्दानी तेब्बर हुने गरेकाे उनले सुनाए । उनकाे बारीमा फल दिने अढाई सय बोट यसपाली बुक भइसकेका छन् । घर र पाहुनाका लागि चार/पाँच बोट छाडेर सबै बेचिसकेकाे उनले बताए । ‘बुटवल, पाल्पा, पोखराबाट व्यापारीले फोन गरेरै घरमा आएर हेरेर किन्छन्,’ उनले भने, ‘यसरी बुकिङ गरेका सुन्तला व्यापारीले घरमै गाडी ल्याएर लैजान्छन् । उधारो बेच्न पनि पर्दैन ।’
बोटबाट टिपेका सुन्तलाका दाना छानेर क्यारेटमा प्याकिङ गरिन्छ । सबैभन्दा ठूलो, मझौला खालको र साना दाना छुट्टाछुट्टै प्याकिङ गरेर व्यापारीले लैजान्छन् । दानाको आकार अनुसारको मूल्य तय गरेर व्यापारीले बगैंचा नै ठेक्का गर्ने गाैतमले बताए ।
पाणिनि–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेल जनप्रतिनिधिको जिम्मेवारीसँगै सुन्तला बगैंचा पनि स्याहार्छन् । उनको बारी पनि व्यापारीले बुक गरिसकेका छन् । ‘धेरै बोटमा गतवर्ष भन्दा उत्पादन बढ्यो,’ उनले भने, ‘असिना परेन, रोगकिराले आक्रमण गरेको छैन, यसपाली आम्दानी बढ्छ ।’ बारीमा ६ सय मध्ये फल दिने साढे तीन सय बोट लटरम्म फलेका छन् । उनी यो वर्ष कति मूल्य पार्न सकिएका भन्दै बोटमा फलेका दाना हेर्दै टिप्ने समय पर्खिरहेका छन् ।
पाणिनि–१ सल्लेरी टोलमा घरघरै सुन्तला बारी छ । माग र आम्दानी राम्रो भएपछि अन्न छाडेर खेतबारीमै सुन्तला रोपेका छन् । खेती व्यवस्थित बनाउन र सहयोग जुटाउन पाखापानी कृषक समूह बनाएका छन् । सुन्तला खेती गरेका ४५ मध्ये ३० घरका कृषक समूहमा आबद्ध भएका छन् ।
यो गाउँमा धेरै सुन्तला खेती गर्ने टुकबहादुर दर्लामी हुन् । फल दिने डेढ सयबाट गतवर्ष साढे ३ लाख रुपैयाँ उनले आम्दानी गरेका थिए । ‘सुन्तला त भरपर्दो निरन्तर आम्दानी हुने कृषि व्यवसाय हो,’ वडासदस्य समेत रहेका दर्लामीले भने, ‘हाम्रो सल्लेरी सिंगो गाउँ सुन्तला खेतीमय बन्यो । सुन्तलाले गाउँका खेतबारी बाँझा छैनन्, बसाइँसराई पनि अति न्यून छ ।’
समूहबाट कृषक भेला भई सुन्तलाका विरुवा लगाउने, हुर्काउने, मलजलदेखि ठूला दाना फलाउने तरिकाबारे छलफल हुने उनले बताए । गतवर्ष कृषि ज्ञान केन्द्रबाट दुई वटा ट्यांकी निर्माण भए । एउटामा १५ सय लिटर पानी अट्छ । त्यही पानीले सुन्तलाका बोटमा सिँचाइ हुन्छ । अझै थप ट्यांकी बनाइने उनले बताए । मलजल राम्रोसँग स्याहारसुसार गरेपछि सुन्तलाले राम्रो नाफा दिने उनले बताए ।
सुन्तलाको आम्दानीबाट घरखर्च, छोराछोरीको पढाई र घरगोठ राम्रो बनाउन धेरैलाई सहज भएको छ । अर्का युवा कृषक विष्णु भट्टराईले यो वर्ष सुन्तला पाक्न थालेको र राम्रो फल दिएकाले आम्दानी गतवर्ष भन्दा बढ्न सक्ने बताए ।
जिल्लाकै सबैभन्दा धेरै सुन्तला खेती हुने पाणिनि–१ सिम्ले हो । जहाँका कृषकले सुन्तलाबाट मनग्य आम्दानी गरेको देखेपछि नजिकैका गाउँका कृषकले पनि सुन्तला खेतीलाई विस्तार गरेका छन् । सिम्लेमा हरेक वर्ष तीन करोड रुपैयाँ भन्दा बढी आम्दानी भित्रिन्छ । यहाँ हरेक कृषकको खेतबारीमा पहेंलपुर सुन्तला फलेका छन् ।
कृषि ज्ञान केन्द्रका प्राविधिक शारदा आचार्यले सिम्लेसहित जिल्लाको पोखराथोक, खिदिम, पणेना, मैदान, छत्रदेव गाउँपालिकाको मरेङ, भगवती, अर्घातोष र मालारानी गाउँपालिकाको खनदह, हंसपुर साकिनधारा गाउँमा व्यावसायिक रुपमा खेती हुँदै आएको बताइन् । उनले गाउँभर यो वर्ष सुन्तला उत्पादन राम्रो भएकाले आर्थिक कारोबार पनि वृद्धि हुने बताइन् ।
