लुम्बिनीमा १० दिन बस्दा भैरहवास्थित सिटी अस्पताल पुगेर पाँच पटक डायलोसिस गराएका म्यानमारका प्रख्यात तथा सम्मानित बौद्ध धर्मगुरु फा–उक सयाडो लुम्बिनीमा २० हजार सालका बिरुवा रोप्ने अभियान लिएर यहाँ आएका हुन् ।
What you should know
लुम्बिनी — ध्यान साधनाका महान् आचार्य बौद्ध धर्मगुरु फा–उक सयाडो उमेरले ९१ वर्षका भए । राम्रोसँग हिँड्न सक्दैनन् । अस्पतालमा उपचाररत छन् । दिन बिराएर मिर्गौलाको डायलोसिस गर्नुपर्छ । अर्कोतर्फ संक्रमणको जोखिम उत्तिकै छ । थलिएको शारीरिक अवस्था र चिकित्सकले हिँडडुल गर्न लगाएको प्रतिबन्धविपरीत शान्ति, करुणा र भ्रातृत्व भावको दिव्य चक्षु पलाउँदा उनी सेवाका लागि लुम्बिनी आएको बताउँछन् ।
म्यानमारका प्रख्यात तथा सम्मानित बौद्ध धर्मगुरु सयाडोको ध्यान साधना विश्वभरि चर्चित छ । उनै सयाडो मंसिर दोस्रो साता बुद्ध जन्मस्थल लुम्बिनीमा सालका विरुवा रोप्न आएका हुन् । उनले १० दिन लुम्बिनीमा बसेर वृक्षारोपण गरे । उनी हिँड्न सक्दैनन् । तर, उनका अनुयायी उनलाई होटलदेखि गाडीमा राखेर वृक्षारोपण स्थलसम्म लैजान्थे । वृक्षारोपण स्थलमा ह्वील चेयरमा बसेर उनले सहयोगी र अनुयायीका साथमा वृक्षारोपण गर्थे । बोट बिरुवामा सिँचाइ गर्थे ।
बुद्ध जन्मस्थलप्रतिको श्रद्धा र आस्था यस्तो गडेको थियो कि उनी एक दिन बिराएर डायलोसिस गर्दै लुम्बिनीमा दिनको दुईपटक वृक्षारोपण गर्न पुग्थे । शान्तिप्रति समर्पित भएर बुद्ध जन्मेको ठाउँलाई सम्मान दिन ठूलो जोखिम मोलेर उनी यहाँ आएको उनका अनुयायीहरू बताउँछन् ।
म्यानमार सरकारले उनलाई मुलुकको उच्च सम्मानित ध्यानगुरु (अग्ग महाकम्माठानाचार्य) को उपाधि प्रदान गरेको छ । उनी ५ महिनादेखि मिर्गौला समस्याले ग्रस्त छन् । एक दिन बिराएर डायलोसिल गराउनु पर्छ । उनको उपचार अहिले पनि सिंगापुरको अस्पतालमा भइरहेको छ । तर पनि उनी लुम्बिनी आउन भनेपछि तयार भए । लुम्बिनीमा २० हजार सालका बिरुवा रोप्ने उनको ठूलो सपना पूरा भएको छ ।
सिंगापुरबाट काठमाडौं आएर सिधै हेलिकप्टर चार्टर्ड गरेर उनी लुम्बिनी आएका थिए । लुम्बिनी बस्दा उनी बिहान ८ बजे र दिउँसो ३ बजे आफैं वृक्षारोपण गर्न पुग्थे । अनुयायीका साथ ८/१० वटा विरुवा रोपेर डेढ/दुई घण्टामा होटलमा फर्किन्थे र लुम्बिनीस्थित बुद्धस्थल दर्शन गर्न पुग्थे । 
लुम्बिनीमा १० दिन बस्दा उनले भैरहवास्थित सिटी अस्पताल पुगेर ५ पटक डायलोसिस गराए । दिन बिराएर डायलोसिस गर्न पुग्थे । डायलोसिस गराउँदै वृक्षारोपण गर्न विदेशबाट आउनु सामान्य आँट र चाहनाले नपुग्ने उनका अनुयायी भीम बस्नेतले बताए । ‘उहाँ साँच्ची नै बोधीसत्व हो,’ उनले भने, ‘उहाँ वर्तमान, भूत र भविष्य देख्न सक्नु हुन्छ ।’
बुद्ध दर्शनमा सालका वृक्षको महिमा धेरै भएको हुँदा बुद्ध जन्मस्थलमा त्यो रोप्न आएको ध्यान गुरुकी सेविका तारा राईले बताइन् । ‘सिंगापुरमा ५ महिनादेखि अस्पतालमा बसिरहेका ध्यान गुरुलाई त्यहाँ भेट्न सकिन्न,’ उनले भनिन्, ‘त्यसैले फा–उक सयाडोको दर्शन गर्न सिंगापुरका अनुयायी आफ्नै खर्चमा लुम्बिनी आएका छन् ।’
यहाँ वृक्षारोपण गरेर उनी हेलिकप्टर चार्टर गरेर काठमाडौं पुगी सिधै सिंगापुर अस्पतालमा उपचारका लागि पुगेका छन् । आफूलाई दुई वर्षअघि नै लुम्बिनीमा वृक्षारोपण गर्न आउन इच्छा लागेको उनले बताए । ‘बुद्धको जन्म र मृत्यु सालको वृक्षमुनि भएको थियो,’ उनले भने, ‘पवित्र सालका वृक्ष रोपण गर्न सके आफू, लोक र जगतलाई नै फाइदा पुग्ने हुँदा २० हजार विरुवा रोप्ने योजना छ ।’ गत वर्ष ३ हजार ४ सय विरुवा रोपेका थिए । यस वर्ष १६ हजार ६ सय विरुवा रोपिएको छ ।
लुम्बिनी विकास कोषको पश्चिम उत्तर क्षेत्रमा उनले आफ्नो खर्चमा वृक्षारोपण गरेका हुन् । विरुवा नर्हुंकदासम्म रेखदेखका लागि ८ जना मालीको पनि व्यवस्था गरिएको छ । गत वर्ष पनि उनी वृक्षारोपण गर्न एक साताका लागि लुम्बिनी आएका थिए ।
उनीसँगै यसपटक ३४ जनाको टोली लुम्बिनी आएको थियो । उनको सेवा गर्ने मात्रै १४ जनाको टोली छ । २ जनाले १२ घण्टा खट्नु पर्छ । म्यानमारबाटै आएका डा. भिक्षु रथपालाको नेतृत्वमा नर्ससहितको ५ जनाको चिकित्सक टोली पनि सँगै थियो । खाना पकाउने र कपडा धुने टोली छुट्टै थियो । बाँकी चीन, थाइल्यान्ड र म्यानमारबाट आएका उनका अनुयायी थिए । 
उनले २२ वर्षको उमेरदेखि ३० वर्षसम्म जंगलमा बसेर जंगली कन्दमूल खाएर कठोर ध्यान साधना गरेका थिए । बुद्ध शिक्षाजस्तै उनले आफ्नै फा–उक ट्रेडिसन ध्यानको विकास गरेका छन् । १० वर्षको उमेरमा श्रामनेर (भिक्षु जीवनमा प्रवेश) गरेका उनी २० वर्षको उमेरमा पूर्ण भिक्षु बने । २२ वर्षमा धम्माचार्य बने । दक्षिण एसियामा लोकप्रिय रहेको फा–उक ट्रेडिसनका कारण उनको प्रसिद्धि विश्वभर छ ।
अचिन्ना उपनामले पनि चिनिने उनका म्यान्मारमा ५५ वटा फा–उक मेडिटेसन सेन्टर रहेको उनका सेवक भिक्षु पुण्यवन्तोले बताए । त्यस्तै मलेसिया, इन्डोनेसिया, सिंगापुर, थाइल्यान्ड, चीन, अमेरिका र नेपाल लगायत मुलुकमा २४ फा–उक मेडिटेसन सेन्टर छन् । म्यानमारमा फा–उक अन्तर्राष्ट्रिय विश्वविद्यालय पनि छ । त्यहाँ स्नातकोत्तरसम्मको पढाइ हुन्छ ।
त्यस्तै म्यान्मार सरकारले उनलाई धेरै प्रतिष्ठित उपाधि प्रदान गरेको छ । अभिधज्ज महारठ्ठ गुरु, अभिधज्ज अग्गमहा सद्धम्मजोतिका र अग्ग महापण्डित जस्ता प्रतिष्ठित उपाधि उनले पाएका छन् । नेपालमा बुद्ध जन्मेका कारण नेपालीहरू भगवान् बुद्धको आफन्त भएको फा उक सयाडोको भनाइ उद्धृत गर्दै भिक्षु पुण्यवन्तोले भने, ‘त्यस्तै बुद्ध शिक्षा अनुसरण गरेर नेपाली मनमा शान्ति, करुणा र मैत्री भाव उत्पन्न गर्न पर्छ ।’ उनका ‘नोइङ एण्ड सीईङ’, ‘वर्किङ अफ कम्म’ र ‘निर्वाना गामिनी पतिपडा’ नामका पुस्तक प्रसिद्ध छन् ।
लुम्बिनीमा रहँदा फा उक सयाडोले बुद्ध जन्मथल मायादेवी मन्दिरमा पूजाआजा गरेका थिए । विश्व शान्ति स्तुप अवलोकन गरे । शाक्यवंशीय राजधानी तिलौराकोट भ्रमण गरे । ध्यान बसे । उमेर र स्वास्थ्यका कारण उनको आवतजावत सहज नभए पनि उनी बुद्ध जन्मस्थल अवलोकन गर्न निकै उत्सुक थिए । उनी यहाँ आउन पाउँदा उत्तिकै भावुक र खुसी भएको उनका सेवक भिक्षु पुण्यवन्तोले बताए । ‘हिँडन सक्दैनन् । ह्वीलचेयरमा आवतजावत गर्छन् । ह्वीलचेयर नगुड्ने ठाउँमा उनलाई चेलाले ह्वीलचेयरमै बोकेर लैजान्छन्,’ उनले भने ।
बौद्ध धर्मगुरु फा–उक सयाडोले कपिलवस्तुस्थित वाणगंगा नगरपालिकाको महावनमा पनि पूजाआजा गरे । गौतम बुद्धले ज्ञान प्राप्त गरेर १५ वर्ष पछि आउँदा रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्य र कोलीयबीच झगडा हुँदा सम्झाइबुझाइ उक्त स्थानमा महासमय सुत्त पाठ देशना गरिएको थियो । बुद्धले महावनमा १० हजार चक्रवर्ती देवीदेवता र २ सय ५० कोलीय र २ सय ५० शाक्य राज्यका भिक्षुलाई महासमय सुत्त देशना गरेका थिए । देशनापछि ५ सय भिक्षु अरहन्त (बोधी ज्ञान प्राप्त) बनेको बौद्ध साहित्यमा उल्लेख भएको भन्ते सुमंगलोले बताए । बुद्धले ५ सय जना अरहन्त र असंख्या देवतालाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी वाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।
सन् १९३४ मा म्यानमार जन्मिएका भए पनि उनी कम्बोडिया, भियतनाम र थाइल्याण्ड लगायतका मुलुकमा उत्तिकै लोकप्रिय छन् । थाइल्याण्डको महाचुलालोङकोन युनिभर्सिटीबाट दर्शनशास्त्रमा विद्यावारिधि उपाधि पाएका उनी गत वर्ष ३ महिना नेपालमै वर्षावास बसेका थिए ।
बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व असारदेखि असोज पूर्णिमासम्म उनी दोलखाको धम्मदायद ध्यान केन्द्रमा वर्षावास बसेका हुन् । वर्षावास सकेर लुम्बिनी आई सालका वृक्ष रोप्न शुभारम्भ गरेका थिए । ‘उनी ध्यान साधनाका महान् आचार्य नै हुन्,’ लुम्बिनी विकास कोषका ज्ञानीन राईले भने, ‘उनले नेपाल भ्रमण गर्नु भनेको लुम्बिनीजस्तो पवित्र भूमिको आस्था र श्रद्धा बढ्नु हो ।’
उनले भ्रमण गरेको ठाउँमा आउन उनका विश्वभरका अनुयायी लालायित हुन्छन् । ‘यसले नेपालको शान्ति पर्यटन प्रवर्द्धनमा राम्रो टेवा पुग्छ,’ राईले भने । उनको फा–उक ट्रेडिसनको ध्यान साधना विश्वमै प्रसिद्ध छ । उनका अनुयायी विश्वभर फैलिएका छन् । उनका अनुयायीले उनको नाममा दोलखाको शैलुङ डाँडामुनि फस्कु गाउँपालिका–७ मा फा–उक धम्मदायद ध्यान केन्द्र निर्माण गरेका छन् ।
हिमाली मुलुक नेपाल असाध्यै मन पराउने बोधीसत्व फा–उक सयाडोले यहीँ देह त्याग गर्ने इच्छा रहेको उनका अनुयायीहरू बताउँछन् । ‘दिन घर्कंदै जाँदा म्यानमारमा उनी सधैं बुद्धस्थल नेपाल सम्झन्छन्,’ उनका अनुयायी भन्छन्, ‘यहाँको अगाध माया, स्नेह र प्रेमले यस्तो भएको हो ।’ अझ जन्मस्थल लुम्बिनीको नाम लिँदा बुढ्यौली उमेरमा पनि उनमा छुट्टै जोश, जाँगर र ऊर्जा बढ्ने गरेको उनका सेवक भिक्षु पुण्यवन्तोले बताए ।
