सत्यवती बहुमुखी क्याम्पसमा संचालित महायज्ञबाट चार दिनमै डेढ करोड नगद संकलन

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञाननन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचनका साथै आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा प्रवचन गरिरहेका छन् ।

मंसिर २१, २०८२

सन्तोष महतारा

1.5 crore cash collected in four days from Mahayagya conducted at Satyawati Multiple Campus

What you should know

गुल्मी — सत्यवती बहुमुखी क्याम्पसमा संचालित महायज्ञबाट चार दिनमै डेढ करोड रुपैयाँ नगद संकलन भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसले क्याम्पसको समग्र विकासका लागि संचालन गरेको  ज्ञान-महायज्ञबाट चार दिनमै डेढ करोड नगद संकलन भएको हो ।

मंसिर १८ गतेबाट सत्यवती बहुमुखी क्याम्पसमा 'राष्ट्रकल्याण एवं विश्वशान्ति विराट् धनधान्याचल साङ्ग-श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ-२०८२' सुरु भएको छ । जसबाट १ करोड ५० लाख रुपैयाँ नगद संकलन भएको महायज्ञ प्रचारप्रसार समिति संयोजक प्रकाश भट्टराईले बताए । उनका अनुसार एक सय रुपैयाँदेखि १३ लाख ३ हजार ३ सय ३३ रुपैयाँसम्म व्यक्तिगत सहयोग गरेका छन् । यसमा कबोल रकम भने समावेश गरिएको छैन ।

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञाननन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचनका साथै आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा प्रवचन गरिरहेका छन् ।

महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, विविध मन्त्रजप, शप्तचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनामादि र पाठ-पारायणहरू भइरहेका छन् । साथै भजनकीर्तन, कृष्णलीला र नृत्य पनि प्रदर्शन भइरहेको छ । महायज्ञमा अन्नदान र नगद रकम सहयोग भइरहेको छ ।

तत्कालीन सत्यवती माध्यमिक विद्यालय जनसमुदायकै सहयोगमा २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पस सत्यवती क्षेत्रको एक मात्र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । हाल मानविकी र व्यवस्थापन संकाय अध्यापन हुने यस क्याम्पसले लगत्तै शिक्षा संकायको समेत स्वीकृति पाउने चरणमा छ ।1.5 crore cash collected in four days from Mahayagya conducted at Satyawati Multiple Campus

सूचना तथा संचार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न, आर्थिक विकास र भौतिक पूर्वाधारलाई सबल बनाउन,  आवासीय छात्रावासको व्यवस्था गर्न, आधुनिक पुस्तकालय निर्माण गर्न, विद्यार्थीलाई 'पढ्दै कमाउँदै' कार्यक्रममा जोड्न र नीतिचेतना, आदर्श धर्म र संस्कारमा आधारित समयसापेक्ष संस्कृत शिक्षाको व्यवस्थापनमा पहल गर्न ज्ञानमहायज्ञ  चलिरहेको क्याम्पस प्रमुख विकाश ढकालले जानकारी दिए । उनले विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएर शिक्षाबाट वञ्चित नहुने वातावरण बनाउने योजना रहेको पनि बताए ।

महायज्ञबाट तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आर्थिक समिति संयोजक पारिश्वर ढकालले बताए । उनले लक्ष्य पूरा हुने दाबी पनि गरे । क्याम्पसका संरक्षक सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफूहरूले सक्दो सहयोग गरिरहेको बताए । क्याम्पसको विकासका लागि स्वतस्फूर्त सहयोग गर्न चाहनेका लागि महायज्ञको वातावरण तयार गरेको पनि उनले बताए ।

क्याम्पसमा हाल मानविकी र व्यवस्थापन संकाय मात्रै रहेकाले ९२ जना विद्यार्थी अध्ययनरत छन् ।  क्याम्पसले शिक्षा संकाय थपेपछि विद्यार्थीको संख्या पनि उल्लेख्य मात्रामा थपिने क्याम्पसको अपेक्षा छ ।

सन्तोष महतारा

Link copied successfully