कालीगण्डकीमा सुन्तला उत्पादन : पालिकाकाे प्राेत्साहन, किसानको आकर्षण

लमसराङ, निगारे, अर्वेनी देउराली, साैरेनी र छापचाैर नयाँ गाउँमा अहिले सुन्तला खेतीमा निकै आकर्षण बढेको छ ।

मंसिर २०, २०८२

सन्तोष महतारा

Orange production in Kaligandaki: Municipality's encouragement, farmers' attraction

What you should know

गुल्मी — कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट साैरेनीका टाेमबहादुर रानासँग अहिले पाँच सय फल दिने सुन्तलाका बाेट छन् । पुर्खादेखि नै एक/दुई वटा बाेट घर छेउका बारीमा फल्ने सुन्तला १० वर्षअघिदेखि व्यावसायिक रुपमा सुुरु गरेका हुन् ।

वार्षिक तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने उनले ४० क्विन्टल सुन्तला निर्यात गर्छन् । बारीबाटै हाेलसेलमा प्रतिकिलो ६० रुपैयाँ देखि ८० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

साेही ठाउँका गाेपीराम पुनले पनि रानाकै हाराहारीमा सुन्तला खेती गरेका छन् । आफ्नो गाउँमा सुन्तला हुने भएपछि लगाउन सुरु गरेको उनलेे बताउँछन् ।

पुर्तिघाटकै दमाराका सूर्यबहादुर रानाले गतवर्ष चार सय सुन्तलाका बिरुवा लगाएका छन् । ४० बाेटबाट ६ क्विन्टल अहिले पनि बिक्री भएको उनलेे बताए  । अहिले अन्य हुर्किरहेका छन् ।

पालिकाले बिरुवा नि:शुल्क र प्रति खाल्डा चार सय रुपैयाँमा दरले खाल्डा खन्न सहयोग पाएपछि उनलेे बिरुवा लगाएका हुन् ।  दुईचार वर्ष मेहनत गरेपछि पछि राम्रो आम्दानी हुने उनलेे बताए । अर्थशास्त्रबाट मास्टर डिग्री गरेका उनले पढेलेखेकाले कृषि गर्दैनन् भन्ने भ्रम ताेडेका छन् । उनले गाउँका अन्य किसानलाई बजारीकरणमा पनि सहयोग गरेका छन् ।

यी त सामान्य उदाहरण मात्रै हुन् । कालीगण्डकीका लमसराङ, निगारे, अर्वेनी देउराली, साैरेनी र छापचाैर नयाँ गाउँमा अहिले सुन्तला खेतीमा निकै आकर्षण बढेको छ । सुन्तला खेतीमा कालीगण्डकी गाउँपालिकाले प्राेत्साहन समेत गरेको छ ।

भाैगलिक अवस्थाले विकट मानिने  कालीगण्डकी गाउँपालिकामा अहिले सुन्तला खेती बढ्दै गएको छ । गतवर्ष ६५ लाख रुपैयाँकाे सुन्तला कालीगण्डकी निर्यात भएको र यसवर्ष ७५ लाख रुपैयाँ भन्दा बढीको निर्यात हुने अनुमान गरिएको कृषि अधिकृत सुशील पाण्डेले जानकारी दिए । उनले गतवर्ष छ हजारभन्दा बढी सुन्तलाका बिरुवा नि:शुल्क वितरण गरिएको बताए । यसवर्ष १५ हजार सुन्तलाका बिरुवा नि:शुल्क वितरण गर्ने पालिकाकाे तयारी छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले प्रधानमन्त्री राेजगारमा आउने सम्पूर्ण रकम कृषि क्षेत्रकाे सुन्तला खेतीमा लगानी गरिएको बताए । 'फलफूलकाे हबका रुपमा पालिकालाई पहिचान गराउँदैछाैं,' उनले भने, 'हामीले कालीगण्डकी करिडोरले छिचोलेपछि बजारको कुनै समस्या छैन ।' उनले नि:शुल्क बिरुवा वितरण र खाल्डा तयार गर्न प्रति खाल्डा ४ सय रुपैयाँका दरले सहयोग, औषधि सहयोग, सुन्तला टिप्न प्रविधि सहयोग र बजारीकरणमा पनि सहयोग गरिएको बताए ।

सुन्तला खेतीमा कालीगण्डकी गाउँपालिकाले प्राेत्साहन गरिरहेकाे र किसानको आकर्षण बढिरहेको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिका अध्यक्ष थापाका अनुसार, एक/दुई वर्षमा हालको सुन्तला निर्यात तेब्बर र पाँच वर्षमा त्यसमा पनि दाेब्बर निर्यात गर्नेगरि तयारी छ । 

सन्तोष महतारा

Link copied successfully