रक्षा बमले आफूहरू सरकारसँग ‘नजिक’ भएको भन्ने जनमतबारे स्पष्टीकरण दिँदै भनिन्, 'यो नागरिक सरकार हो । सरकारसँग नजिक-टाढा भन्ने होइन, हामी नागरिककै प्रतिनिधिका रूपमा म्यान्डेट पूरा गराउन दौडधुपमै छौं ।'
What you should know
दाङ — जेन-जी अगुवाहरूले आन्दोलनले ल्याएको राजनीतिक चेतनालाई संस्थागत गर्न सबै नागरिकले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा बताएका छन् ।
शनिबार दाङको घोराहीमा ‘जेन-जी आन्दोलनपछि बदलिँदो चेतना’ विषयमा आयोजित छलफलमा सहभागी जेन-जी अगुवा रक्षा बमले सबै नागरिकले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा बताएकी हुन् ।
उनले भनिन्, 'यो स्थिति हामीले बोक्नु पर्छ। आन्दोलनको म्यान्डेट पूरा गर्ने जिम्मा सरकारसँग मात्रै होइन, प्रत्येक नागरिकसँग छ। हाम्रो पुस्ताले त सडकमा प्रश्न लिएर उत्रिएको हो, ती प्रश्न आज पनि उत्तरसहित पूरा भएको छैन।'
रक्षाले आफूहरू सरकारसँग ‘नजिक’ भएको भन्ने जनमतबारे स्पष्टीकरण दिँदै भनिन्, 'यो नागरिक सरकार हो । सरकारसँग नजिक-टाढा भन्ने होइन, हामी नागरिककै प्रतिनिधिका रूपमा म्यान्डेट पूरा गराउन दौडधुपमै छौं ।'
जेन-जी आन्दोलनलाई संस्थागत गर्न र उनीहरूको माग पूरा गर्न वैकल्पिक शक्तिको ध्रुवीकरण अपरिहार्य रहेको रास्वपाका युवा नेता विशाल अधिकारीले बताए । जेन-जी आन्दोलनपछि युवामा बढेको राजनीतिक चेतना वैकल्पिक राजनीतिक शक्तिको निर्माणसँग घनिष्ठ रूपमा जोडिएको उनले बताए।
त्यस्तै इन्जिनियर सागर ढकालले तीन महिनाअघि बनेको अन्तरिम सरकारले केही क्षेत्रमा सुधारको संकेत देखाएको भए पनि प्रणालीगत समस्या ज्यूँका त्यूँ रहेको टिप्पणी गरे । उनले भने, '७५ वर्षको लोकतन्त्रमा एउटा पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेन। योग्यतामाथि होइन, पहुँच र पैसामाथि आधारित नेतृत्वले देशलाई यो अवस्थामा ल्याएको हो।'
उनले आगामी चुनावमा भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डा, ‘आइ-भोटिङ’ जस्ता डिजिटल सुधार र योग्यतामा आधारित नेतृत्वको मोडल अघि सार्दै मात्र वैकल्पिक शक्तिले जनताको भरोसा जित्न सक्ने बताए ।
