हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । मुलुकभर बाघ गणनाका लागि ३ करोड खर्च लाग्ने अनुमान राष्ट्रिय निकुञ्ज विभागको छ।
What you should know
बर्दिया — यस वर्ष पहिलोपटक थप एकसहित ५ वटा ब्लक राखी बाघ गणना गरिने भएको छ ।
बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा दुई–दुई र दाङमा थप एक गरी ५ वटा ब्लक राखिने राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाले जनाएको छ। बाँके निकुञ्जमा दाङको केही भाग पर्ने भएकाले थप एक ब्लक राखिने कोषका बर्दिया प्रमुख अजित तुम्फाहाम्फेले बताए ।
पुस पहिलो साताबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना गरिने भएको छ । बाघ गणनाका लागि क्यामरा काठमाडौंबाट शनिबार बेलुकीसम्म आइपुग्ने कोषका प्रमुख तुम्फाहाम्फेले जनाए । क्यामेरा ट्रापिङ प्रविधिबाट गणना गरिने बर्दिया निकुञ्जले जनाएको छ । बाँके, दाङ, बर्दिया निकुञ्ज र आसपास गरी करिब ४ सय ५० क्यामरा आवश्यक पर्छ । बाघको गणना चितवन–पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझारी कम्प्लेक्समा हुने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ । बाँके, बर्दिया र दाङमा एकै साथ ब्लक बनाई गणना गरिने भएको हो ।
निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामरा ट्रापिङको सहयोगमा गणना गरिने भएको छ। निकुञ्ज बाहेक खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको छ। बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई मंसिर अन्तिम साताबाट प्रशिक्षण दिने भएको बर्दिया निकुञ्जका प्रमुख अशोक रामले बताए।
मुलुकभर बाघ गणनाका लागि ३ करोड खर्च लाग्ने अनुमान राष्ट्रिय निकुञ्ज विभागको छ। करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाख हाराहारीमा थियो। एक दशकअगाडि सम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो। सोहीअनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ।
बर्दियामा आठ वर्ष अघि गरिएको गणनामा ८७ बाघ थिए । चार वर्षअघि १ सय २५ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ।
