चोरी तस्करी नियन्त्रण नभएको भन्दै आलोचना

सीमामा ट्रक–ट्रक उपभोग्य सामग्री भित्रिँदा राजस्व चुहावट र स्वास्थ्य जोखिम बढेको भन्दै सुरक्षा निकाय, उद्योगी तथा स्थानीय चिन्तित देखिएका छन्।

मंसिर १९, २०८२

दीपेन्द्र बडुवाल

Criticism for lack of control over smuggling

What you should know

भैरहवा — लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाबाट चोरी तस्करी नियन्त्रण नभएको भन्दै लगातार आलोचना भइरहेको छ। जिल्लादेखि केन्द्रीयस्तरका कार्यक्रममा राज्यका जिम्मेवार निकायका व्यक्तिले चोरी तस्करीका कारण राजस्व चुहावट भइरहेको जनाउँदै आलोचना गरेका छन्।

सीमावर्ती जिल्लामा छिमेकी मुलुक भारतका विभिन्न बजारमा पुगेर उपभोग्य सामग्री खरिद गर्नु ‘संस्कृति’ बनिसकेको छ। त्यसबाहेक भन्सार छलेर ठूलो परिमाणमा सामान भित्रिन थालेपछि आलोचना भएको हो। दुई साताअघि भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले तस्करी नरोकिएकोमा आक्रोश पोखे। ‘सीमा क्षेत्रबाट ट्रकका ट्रक सामान भित्रिरहेका छन्,’ उनले भने, ‘तस्करी नियन्त्रण जरुरी छ, त्यसका लागि सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ।’ सीमा क्षेत्रबाट जबरजस्ती सामान ओसारिँदा मुकदर्शक बन्न नहुने र यसबारे सुरक्षा प्रमुख गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

सिद्धार्थ उद्योग वाणिज्य संघले गत मंगलबार आयोजना गरेको छलफलमा भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले उपभोग्य सामानको व्यापक तस्करीप्रति चिन्ता व्यक्त गरे। यसपटक राजस्व संकलन लक्ष्य एक खर्ब १३ अर्ब रुपैयाँ भए पनि त्यसमा वैध तरिकाले आयात गरिने खाद्यान्नलगायत उपभोग्य सामग्रीको योगदान जम्मा ५ प्रतिशत हुने उनले बताए। ‘रुपन्देही हुँदै लुम्बिनी, गण्डकी प्रदेशका पहाडी जिल्लामा भारतलगायत मुलुकबाट आयात गरिएका यस्ता सामग्री ट्रकका ट्रक पुगिरहेका छन्,’ उनले भने, ‘त्यो हेर्दा चोरी तस्करी हुँदैन भनेर कसरी भन्नु।’

सर्वसाधारणले न्यून मात्रामा भारतीय बजारबाट ल्याउने सामग्रीमा व्यवहारिकता हेरिए पनि राजस्व चुहावट गर्ने उद्देश्यले गरिने आयातप्रति राज्यका निकाय कठोर बन्नुपर्ने उनले बताए। तस्करी नियन्त्रणका लागि भरियादेखि रिक्सा चालकसम्मलाई जनचेतनाका कार्यक्रम जरुरी रहेको उनले बताए। तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अर्थ र गृह मन्त्रालय मातहत निकायले प्रभावकारी ढंगले काम गरेको खण्डमा राजस्व चुहावट नियन्त्रण सम्भव हुने बताए। ‘नीति–नियमभित्र रहेर काम गर्नेलाई मात्र प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘राज्यका निकाय मातहतबाट गलत काम भइरहेको हामी देख्छौँ, तर सरकारी निकायले पत्तो नपाउने कारण के हो?’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ठाकुरकुमार श्रेष्ठले जिल्ला प्रशासन, प्रहरी, भन्सार र राजस्व अनुसन्धान प्रमुख नयाँ आउँदा स्वागत कार्यक्रम राखेर चोरी तस्करी र राजस्व चुहावट नियन्त्रण माग गर्दै आएको बताए। ‘सेटिङमा चोरी तस्करी हुने गरेको छ,’ उनले भने, ‘एउटै व्यक्तिले दिनमा दस पटकसम्म सामान ओसार्छ, तर भन्सारका कर्मचारी र प्रहरीले देख्दैनन्।’ सीमावर्ती जिल्लामा चोरी तस्करी संस्कारका रूपमा विकास भइसकेकाले मूल बाटोमा कडाइ गरेर मात्र नियन्त्रण नहुने उनले बताए। कम्तीमा राजस्व छल्नु हुँदैन भनेर सबै नागरिकलाई सचेत नगराएसम्म समस्या ज्युँका त्युँ रहने उनको भनाइ छ।

पछिल्लो समय जिल्लामा आयोजना गरिने उद्योगी–व्यवसायीका कार्यक्रममा चोरी तस्करीको विषय उठान हुने गरेको छ। त्यस्ता कार्यक्रममा सहभागी व्यवसायी हरियो सागदेखि महँगा सुविधाका सामान भन्सार छलेर भित्र्याउने गरिएको बताउँछन्। जसले गर्दा जिल्लाको व्यापार–व्यवसाय फस्टाउन नसकेको उनीहरू दुखेसो गर्छन्। व्यवसायीका अनुसार सीमावर्ती भारतीय बजारबाट अर्डर अनुसारका सामान मुलुकका पोखरा, काठमाडौँलगायत सहरसम्मै ‘डेलीभर’ गरिन्छ। ‘घरका लागि आवश्यक इलेक्ट्रिक सामान अर्डर गरे पुग्छ,’ एक व्यवसायीले भने, ‘भारतीय नागरिकले नै घरमा ल्याएर जडान मात्र गर्दैनन्, पछिसम्म मर्मत सेवा प्रदान गर्छन्।’

रुपन्देहीको मायादेवी गाउँपालिकाको कृषि शाखामा कार्यरत एक कर्मचारीका अनुसार मर्चवार क्षेत्रबाट हरियो तरकारी तस्करी हुने गरेको छ। ‘मर्चवारमा उत्पादित तरकारी र फलफूल आधा पनि हुँदैनन्,’ उनले भने, ‘आधाभन्दा बढी भारतबाट ल्याएर मर्चवारको भन्दै बजारमा बिक्री गर्छन्।’

उनका अनुसार यसरी भित्र्याइने तरकारी र फलफूलमा विषादी मात्रा परीक्षण गरिएको हुँदैन। जसले गर्दा मानव स्वास्थ्यमा असर पुर्‍याउने उनले बताए। सीमावर्ती क्षेत्रबाट वर्षैभरि रासायनिक मलको तस्करी हुने गरेको छ। नेपालमा पर्याप्त नभएको जनाउँदै मल भित्र्याउने गरिएको हो। भारतबाट मल भित्र्याएर गोदाममा भण्डारण गरेर महँगोमा बिक्री गर्दा समेत प्रशासनले आँखा चिम्लिने गरेको स्थानीयवासीको गुनासो छ।

जिल्लाका मुख्य नाकाबाटै तस्करी बढेपछि चिन्ता थपिएको हो। भैरहवाको मुख्य बसपार्कबाट दैनिक रूपमा यात्रुवाहक गाडीबाट तस्करीका सामान राखेर विभिन्न क्षेत्रमा पठाउने गरिएको पाइन्छ। बसपार्क आसपासका गोदाममा तस्करीका सामान बसमार्फत पठाउने गरिएको स्थानीयको आरोप छ। तस्करीमा संलग्नले कपडा, जुत्ता, फूल, हार्डवेयर र किराना सामान बसमा राखेर काठमाडौँ, पोखरा, अन्य सहरमा पठाउने गरेको स्थानीयले बताए। पछिल्लो समय बसपार्क र आसपासका मेउडिहवा, बगाहा, बेलहिया, धकधई, लुम्बिनीलगायत क्षेत्रबाट तस्करीका सामान भित्रिने गरेका छन्। दैनिक उपभोग्य सामान खरिद गर्ने बहानामा तस्करी बढिरहेको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन्।

दैनिक सीमावर्ती क्षेत्रमा गस्तीमा खटिने एक सशस्त्र प्रहरी नायब उपरीक्षकका अनुसार सुरक्षाकर्मीलाई छल्न तस्करले अनेक उपाय लगाउँछन्। तस्करीमा समूह सक्रिय हुने भएकाले उनीहरूले उल्टै सुरक्षाकर्मीमाथि निगरानी गरेर खाली समयमा सामान भित्र्याउने गर्छन्। केही गरे सुरक्षाकर्मी देखेपछि मोटरसाइकलले ठोक्काएर भाग्ने गरेका छन्। पछिल्लो समय मर्चवारमा सशस्त्र प्रहरी र तस्करबीच पटक–पटक झडप सिर्जना भइसकेको छ। गस्तीमा गएका सुरक्षाकर्मीले सामान बरामद गर्ने बित्तिकै तस्करको समूहले घेरा हाल्ने र आक्रमणको प्रयास गर्दै आएका छन्। यसले ग्रामीण क्षेत्रमा खटिएर काम गर्न समस्या भइरहेको सशस्त्र प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले दिनहुँ तस्करी गरेर भित्र्याइएका सामान बरामद गर्छ। दिनदिनै प्रहरीले सामान बरामद गर्नुबाट पनि तस्करी व्यापक रहेको पुष्टि हुने व्यवसायी बताउँछन्। यसरी सामान बरामदले राजस्व वृद्धि भए पनि चोरी तस्करी नरोकिने भएकाले गाउँ–गाउँ पुगेर जनचेतनाका कार्यक्रम गर्न जरुरी रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य बताउँछन्। ‘गलत गर्ने व्यक्तिलाई तत्काल कारबाही गरियोस्,’ उनले भने, ‘गलत काम नगर्नेलाई दुःख नदिएको राम्रो।’

दीपेन्द्र बडुवाल

Link copied successfully