विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख मनोज अर्यालले आधारभुत घरायसी अवस्थामा गुणस्तरीय र व्यवस्थित वायरिङ गर्ने, तार र एमसीबी उपयुक्त क्षमताको राख्ने र फ्यूज जलि राख्यो भनेर मोटो फ्युज नराख्न सुझाव दिन्छन् ।
What you should know
गुल्मी — गत कात्तिक ६ मा रेसुंगा नगरपालिका-४ अर्खलेमा ईश्वरप्रसाद भण्डारीको घरमा एक्कासि आगो लाग्यो । विद्युत् सर्ट भएर लागेको उक्त आगोबाट घरमा पूर्ण क्षति, भाँडाकुँडा र लत्ताकपडा समेत जलेर नष्ट भएका थिए । आगलागीबाट पक्की घरको छतका दुई कोठामा समेत क्षति भएको थियो ।
गत साउन २५ मा सदरमुकाम तम्घासमै वर्ल्डलिंक कार्यालय रहेको कमला खनालको घरमा विद्युत् सर्ट भएरै आगलागी भएको थियो । जसबाट कार्यालयको वाइफाइ तार र मिटर जलेर नष्ट भएको थियो । यद्यपि ठूलो क्षतिबाट भने जोगिएको थियो ।
केही समय पहिले इस्मा गाउँपालिका-२ नाच्नेडाँडामा बिमला दर्जीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घरमा अचानक विद्युत् भएपछि आगलागी भयो । घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै गरगहना, लत्ताकपडा, अन्नपात र भाँडाकुँडा समेत जलेर नष्ट भएका थिए ।
यति मात्रै होइन, पछिल्लो समय विद्युत् सर्ट भएर आगलागी हुने घटनाहरू आइरहेका हुन्छन् । जसबाट लाखौंको सम्पत्ति छिनभरमै नष्ट हुने गरेको छ । यद्यपि आगलागीबाट नष्ट हुने क्षतिको अनुमान यथेष्ट भने आउन सकेको छैन । स्थानीय पीडितको मौखिक सूचनाका आधारमा प्रहरी मुचुल्कालाई आधार मान्ने हो भने घरगोठ जल्दा दुई लाख रुपैयाँदेखि १० लाख रुपैयाँ सम्मको क्षति हुने गरेको छ ।
विद्युत् सर्ट भएर ठूलो क्षति भएमात्र प्रहरीसँग सूचना आउँछ । सामान्य मिटर बक्स जल्ने तथा सामान्य क्षति हुँदा भने प्रहरीसँग सूचना आउँदैन । घरमा अति आवश्यक विद्युत् जोडेपछि यी र यस्ता घटनाहरु सामान्य मानिन्छन् । तर, विद्युत् सर्ट भएरै ठूलो क्षति हुँदासमेत पनि यससम्बन्धी भने सचेतना केही छैन् । जसका कारण अन्यासैमा ठूलो क्षति बेहोर्नुपरेको छ ।
प्रहरीसँग आइपुगेको सूचनालाई आधार मान्ने हो भने आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच गोठ, चार घर र दुई पसलमा क्षति भएको छ । यस आर्थिक वर्षमा भने दुई ठाउँमा आगलागी भएको तथ्यांक प्रहरीसँग रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 'हामीसँग आएका सूचनाको आधारमा तथ्यांक एकीकृत हुन्छ, 'विद्युत् सर्ट भएरै भनेपछि हामी त्यही टिप्छौँ ।' उनले विद्युत् सर्ट हुँदा समयसमयमा क्षति हुने गरेको बताए ।
कसरी बच्न सकिन्छ ?
विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख मनोज अर्यालले आधारभुत घरायसी अवस्थामा गुणस्तरीय र व्यवस्थित वायरिङ गर्ने, तार र एमसीबी उपयुक्त क्षमताको राख्ने र फ्यूज जलि राख्यो भनेर मोटो फ्युज नराख्न सुझाव दिन्छन् ।
साथै पावर सकेटहरू बच्चाले नपुग्ने उचाइमा राख्ने, सकेसम्म हिँड्डुल गर्दा बिजुलीको तार मुनिबाट नहिड्ने, आकाश गर्जेको बेला घर बाहिर ननिस्कने, खाली खुट्टा साथै चिसो हातले बिजुलीको समान, स्विचहरु नछुने र नचलाउने गर्न वितरण केन्द्र प्रमुख अर्यालले आग्रह गरे ।
सकेसम्म बेलुकाको समयमा वासिङ मेसिन, पानी तताउने कित्ली, वाटर पम्प आदि प्रयोग नगर्ने, घाँस काट्न जाँदा बिजुलीको तार नजिक रुखको हाँगा गएको छ भने अथवा रुखको मुनि पट्टिबाट बिजुलीको तार गएको छ भने, त्यो रुखको घाँस नकाट्ने र तुरुन्तै विद्युत् अफिसमा खबर गर्ने, आकाश गर्जेको समयमा सम्भव भएसम्म विद्युतीय उपकरणहरू प्रयोग नगर्ने तथा उद्योगमा राम्रो तरिकाले अर्थिङ गर्ने र प्रयोग नहुँदा बिजुलीको प्लग अफ गरेर राख्नुपर्ने अर्यालले बताए । नियन्त्रण नै नभए पनि सचेत भएपछि न्यूनीकरण हुने विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख मनोज अर्यालले बताए ।
