चितुवाको आक्रमणबाट घाइते भइ बर्दिया अस्पतालमा उपचार गराइरहेकी बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु मंगलबार राति नै घर फर्किएकी छन्।
बर्दिया — चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन् ।
घरनजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई आक्रमण गरेको जन्जिर थारुले बताए ।
‘गाउँको बीचमा रहेको खेतमा पराल राखिएको छ, १३ वर्षीया छोरी अनुसा र १८ वर्षीय अजिता दुई बहिनी पराल लिन गएका थिए, पराल राखिएको ठाउँमा पुग्ने बित्तिकै परालमा बसेको चितुवाले आक्रमण गर्यो,’ उनले भने,‘दिदीलाई चितुवाले आक्रमण गर्दा बाहिनी अनुसा जोडले कराउँदा चितुवा छोडेर भागेको हो ।’ बर्दिया अस्पतालमा उपचारपछि मंगलबार राति नै घर फर्किएको उनले जनाए ।
गत शुक्रबार काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो ।
