राजस्व अनुसन्धान र भन्सारलाई अनुसन्धानका नाममा दुःख नदिन व्यवसायीको आग्रह

सेवाग्राहीभन्दा बिचौलियासित कर्मचारीको पहुँच हुने भएकाले समस्या भइरहेको व्यवसायीको गुनासो

मंसिर १६, २०८२

दीपेन्द्र बडुवाल

Businessmen urge not to trouble Revenue Investigation and Customs in the name of investigation

What you should know

भैरहवा — रुपन्देहीस्थित राजस्व अनुसन्धान र भन्सार कार्यालयलाई अनुसन्धानका नाममा दुःख नदिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा सहभागीले राजस्व छलेको आधारबिनै अनुसन्धान गर्ने नाममा दुःख नदिन अनुरोध गरे । 

स्थानीय व्यवसायी देवराज बेल्बासेले कर्मचारीको मिलेमतो बिनाचोरी तस्करी सम्भव नहुने बताए । ‘कर्मचारीले गर्ने गल्तीका कारण राज्यलाई राजस्व घाटा लागिरहेको छ,’उनले भने, ‘सेवाग्राहीभन्दा बिचौलियासित कर्मचारीको पहुँच हुने भएकाले समस्या भइरहेको छ ।’

बिचौलियाका कारण राजस्व चुहावटले प्रश्रय पाइरहेको उनले बताए । आफ्नै कार्यालयभित्र हुने गरेका बेथितिबारे प्रमुखलाई जानकारी नहुँदा सेवाग्राही पीडित बनिरहेको उनले बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले खुला सिमाना भएका कारण जिल्लामा धेरै समस्या भएकाले तिनलाई सल्टाउनतर्फ राजश्व र भन्सार कार्यालय लाग्नुपर्ने बताए । ‘गृह र अर्थ मन्त्रालयमातहत निकायले राम्रोसित काम गरेको खण्डमा सुधार सम्भव छ,’उनले भने, ‘नीति नियम पालना गर्नेलाई प्रोत्साहन गर्नुपर्‍यो, नियम मिच्नेलाई कारबाही गरिनुपर्छ ।’ 

Businessmen urge not to trouble Revenue Investigation and Customs in the name of investigationजिल्लास्थित आर्थिक क्षेत्रमा गलत काम भइरहेको महसुस सबैले गर्ने तर, सरकारी निकायले त्यसबारे पत्तो नपाउने समस्या रहेको उनले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले बेलहिया नाकास्थित भैरहवा भन्सार कार्यालयबाट के सुविधा पायौं/पाएनौं भन्नेबारे व्यवसायी नै स्पष्ट नरहेको बताए । ‘भन्सारबाट मिल्ने सुविधाबारे जानकारी राख्नुपर्छ,’उनले भने, ‘अनिमात्र हामीले भन्सारका काम कारबाहीबारे प्रश्न गर्न मिल्छ ।’ 

भन्सारले प्रदान गर्ने सेवा/सुविधाबारे स्थानीय सरकारले पनि व्यवसायीलाई जानकारी गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । ‘पहिलेको भन्सार होइन,’उनले भने, ‘सेवा सुविधा अपग्रेड भइरहेका छन, हामी जानकार हुनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि सरकारी निकायमा हाबी बिचौलिया प्रवृत्ति अन्त्यका लागि आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको बताए । ‘राजस्व र भन्सार कार्यालयको बिचौलिया अन्त्य गर्ने रणनीति के हो ?,’उनले प्रश्न गरे, ‘कम्तीमा ऐन, कार्यविधिमा भएका कुरा इमान्दारितासाथ लागू गरिदिनुस् ।’ 

मुलुकमा जेन-जी आन्दोलनपछि सरकारी कर्मचारीको व्यवहारमा परिवर्तन देखिनु सकारात्मक भएको सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जिल्लामा राजस्व अनुसन्धान र भन्सार कार्यालय प्रमुख परिवर्तन हुनेबित्तिकै उद्योगी व्यवसायीले एउटै गुनासो गरे पनि व्यवहारमा सुधार नआउनु दुःखद पक्ष भएको बताए ।

‘बिलबीजक भएका गाडीलाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै भन्सार र राजस्व कार्यालय पठाउँदा मर्का परेको छ,’उनले भने, ‘नियन्त्रणमा लिएका गाडीसित प्रमाण छ भने तुरुन्त फिर्ता गरिनुपर्छ । कार्यालयमा थन्काएर बिचौलिया हाबी वातावरण बन्नु हुँदैन ।’ प्रहरी र कर्मचारीमा जसरी हुन्छ मुद्दा चलाउने मानसिकता अन्त्य हुनपर्ने उनले बताए । 

राजस्व अनुसन्धान कार्यालय बुटवलमा प्रमुख राधेश्याम दाहालले कुनै पनि व्यवसायीलाई दुःख दिने पक्षमा कार्यालय नरहेको बताए । ‘राजस्व जुहावट गर्नेलाई संरक्षण गरिँदैन,’उनले भने, ‘बिलबीजक राम्रो भएका व्यवसायीले अब डराउनुपर्दैन ।’

वास्तविकता बुझेर र राजस्व चुहावट भए/नभएको हेरेर कारबाही अगाडि बढाइने उनले बताए । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अहिले भन्सार परिसर अस्तव्यस्त रहेकाले चुस्त सेवा प्रदान गर्न समस्या भइरहेको बताए । ‘आईसीपी निर्माण पूरा भएपछि सुधार हुन्छ,’उनले भने, ‘सीमा क्षेत्रमा बसेर धेरै कुरामा व्यवहारिक बन्न जरुरी छ । त्यसैले सेवा प्रदान गर्दा काखापाखा गरिँदैन ।’

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले रुपन्देही औद्योगिक र व्यावसायिक जिल्ला भएकाले यहाँका राजश्व र भन्सार कार्यालयले प्रदान गर्ने सेवासित सरोकार हुने बताए । यहाँबाट लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा खाद्यान्नलगायत सामग्री आपूर्ति हुने भएकाले एउटै गाडीका धेरै व्यावसायिक प्रतिष्ठानका सामान पठाउने गरिएको बताए ।

त्यसरी पठाउँदा कसैले त्यस्ता गाडीमा भन्सार छलीका सामान राखेको भए सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्न र गाडी फिर्ता गरिदिन आग्रह गरे । ‘धेरै व्यवसायीले संघमा आएर कार्यालयप्रति गुनासो सुनाउनु हुन्छ,’उनले भने, ‘आगामी दिनमा त्यस्ता गुनासा सुन्न नपरोस् भनेर छलफल आयोजना गरेका हौं ।’ 

दीपेन्द्र

Link copied successfully