मंसिर २४-२६ मा हुने कार्यक्रममा विभिन्न देशका २५ अर्बपतिहरू बुद्ध जन्मस्थल लुम्बिनीमा सहभागी हुँदै छन् ।
काठमाडौँ — ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्ध जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन्। विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको तेस्रो संस्मरणको ‘विश्व शान्ति कार्यक्रम’ मंसिर २४-२६ मा हुनेछ ।
कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्ति कार्यक्रममा सहभागी हुँदै छन्।
कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने खतिवडाले जानकारी दिइन्। उनकाअनुसार नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै कार्यक्रममा लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहनेछ।
कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माणका विषयमा पनि छलफल हुनेछ । स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृतको आवाजमाथि छलफल तथा बहस हुने कार्यक्रम संयोजक शेखर गौतमले बताए ।
