लुम्बिनी प्रेस क्लब र काशी पत्रकार संघबीच पेसागत मुद्दामा सहकार्य गर्ने सहमति

दुई संस्थाबीच सीमापार समाचारका विषय, पत्रकार हकहितका मुद्दा, बुद्ध जन्मस्थल लुम्बिनी र बाबा विश्वनाथ धाम काशीको संयुक्त रुपमा प्रवर्द्धन गर्ने सहमति भएको छ ।

मंसिर १५, २०८२

दीपेन्द्र बडुवाल

Lumbini Press Club and Kashi Journalists Association agree to collaborate on professional issues

What you should know

भैरहवा — रूपन्देहीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रेस क्लब र भारतको बनारसस्थित काशी पत्रकार संघबीच समाचार र पेसागत मुद्दामा सहकार्य गर्ने निर्णय भएको छ ।

भारतको महाराज प्रेस क्लबको समन्वयमा आइतबार बनारसमा भएको छलफल कार्यक्रममा लुम्बिनी प्रेस क्लब र काशी पत्रकार संघबीच सीमापार समाचारका विषय, पत्रकार हकहितका मुद्दा र बुद्ध जन्मस्थल लुम्बिनी र बाबा विश्वनाथ धाम काशीको संयुक्त रुपमा प्रवर्द्धन गर्ने सहमति भएको हो । 

काशी पत्रकार संघका अध्यक्ष अरुण मिश्रले ८५ वर्ष पुरानो संस्थाले अहिले पनि स्वतन्त्र पत्रकारिता र सम्पादकीय मर्यादालाई आत्मसात गरेर अगाडि बढेको जानकारी दिए । भारतका सहरमा प्रेस क्लब स्थापना गर्ने परम्परा रहे पनि बनारसमा काशी पत्रकार संघ पत्रकारिता क्षेत्रको वैभवका रुपमा कायम रहेको उनको भनाइ छ । यही संघअन्तर्गत बनारस प्रेस क्लब पनि छ ।

संघको कार्यालयमा भएको छलफलमा बनारसका प्रतिष्ठित पत्रकार र सञ्चारकर्मीको सहभागिता रहेको थियो । त्यस क्रममा नेपाल र भारतको महाराजगन्जबाट अध्ययन भ्रमणमा पुगेका पत्रकारलाई कार्यालयको अडिटोरियम हल, पुस्कालय र अतिथि गृह अवालोकन गराइएको थियो । 

महाराज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठीले यसअघ लुम्बिनी प्रेस क्लबसित सहकार्यमा सीमा क्षेत्रमा रहेर नेपाल र भारतका धार्मिक, ऐतिहासिक र पर्यटकीय मुद्दामा समाचार सम्प्रेषणका साथै आपसी सद्भाव वृद्धिका क्रियाकलाप सञ्चालन गरिँदै आएको जानकारी गराए । यसपटक परम्परादेखि भाषा, संस्कृति, शिक्षा र राजनीतिको केन्द्रको रुपमा रहेको बनारस क्षेत्रको अध्ययन भ्रमणका लागि संयुक्त रुपमा आएको बताए । ‘दुवै मुलुकका पत्रकार काशी क्षेत्र अध्ययन भ्रमणमा आउँदा काशी पत्रकार संघलाई भुल्न सकेनौं,’ उनले भने, ‘यहाँ आएर छलफल गर्दा पत्रकारितामात्र संस्थागत विकासका बारेमा पनि सिक्ने अवसर मिल्यो ।’

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपालका पत्रकारको छाता संगठनका रुपमा पत्रकार महासंघ भए पनि स्वतन्त्र रुपमा गठित प्रेस क्लबले पत्रकारको क्षमता अभिवृद्धि र उनीहरुलाई स्वदेश र विदेशका महत्वपूर्ण स्थानको भ्रमण गराएर लेखन क्षमता विकास र ज्ञानको दायरा वृद्धिमा भूमिका खेल्दै आएको बताए । 'यस क्रममा विदेशमा रहेका प्रेस क्लबसित भगिनी सम्बन्ध कायम गर्दै आएका हौैं,' उनले भने ।

प्रेस क्लबले अहिलेसम्म भारतको सिक्किम प्रेस क्लब, महाराज प्रेस क्लबसित भगिनी सम्बन्ध कायम गरिसकेको छ । काशी पत्रकार संघसित पनि समन्वय र सहकार्यका लागि आइतबार भेटघाट गरिएको उनले बताए ।

दीपेन्द्र बडुवाल

Link copied successfully