गुलरियामा २८ बाढीपीडित परिवारको आवास निर्माण सकिँदै

गुलरिया–८ सर्जुनदी टपराका २७ र वडा ९ मा १ गरी २८ बाढीपीडित परिवारका लागि न्यून लागतमा भूकम्प तथा बाढी प्रतिरोधी आवास निर्माण भइरहेको हो ।

मंसिर १५, २०८२

रामप्रसाद चौहान 

Construction of houses for 28 flood-affected families nearing completion in Gulariya

What you should know

बर्दिया — गुलरिया नगरपालिकामा २८ बाढीपीडित परिवारका लागि आवास निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ ।

गुलरिया–८ सर्जुनदी टपराका २७ र वडा ९ मा १ गरी २८ बाढीपीडित परिवारका लागि न्यून लागतमा भूकम्प तथा बाढी प्रतिरोधी आवास निर्माण भइरहेको हो । 

२०७१ र २०७४ सालमा बबई नदीको बाढीले गुलरिया नगरपालिका–२ संगमबस्तीस्थित बाँध भत्काएर आएको बाढीले सर्जुनदी टपरा बस्तीका घर पूर्णरुपमा बगाएको थियो । गुलरिया नगरपालिकाको ५६ (प्रति आवासलाई पालिकाको १ लाख २५ हजार र टिनको लागि जनता सुरक्षा कार्यक्रमबाट ७५ हजार) र कारितास नेपालको ४२ गरी ९८ लाखको लागतमा २८ वटा आवास निर्माण भइरहेको हो । 

गत वर्ष पनि नगरपालिका र कारितास नेपालकोमा टपराका ३१ बाढीपीडित परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको थियो । लामो समयपछि आवास निर्माण हुँदा खुसी लागेको गुलरिया–८ की लक्ष्मी सुनार बाँडियाले बताइन् । ‘दैनिक मजदुरी गरेर जीविका चलाइरहेका छौं, गरिबीले आफ्नै लगानीमा घर बन्ने सम्भव थिएन,’ उनले भनिन्, ‘ढिलै भए पनि घर बन्न लाग्दा खुसी छौं ।’

गुलरिया नगरपालिकाको समन्वय र कारितास नेपालद्वारा संचालित आपतकालीन जीविकोपार्जन तथा सुरक्षित आवास निर्माण कार्यक्रम अन्तरगत लामो समयदेखि टहरामा बस्दै आएका बाढीपीडितका लागि आवास निर्माण भइरहेको नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

एक घरको कुल लागत स्टिमेट ५ लाख ८२ हजार ५ सय ६ रहेको कारितास नेपाल फिल्ड कार्यालयका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए । ‘नगरपालिकाको २ लाख र कारितास नेपालको १ लाख ५० गरी प्रति १ घर ३ लाख ५० हजार बजेट रहेको छ,’ संयोजक केसीले भने,‘यस्तै समुदायको श्रमदान तथा स्वलगानी २ लाख ३२ हजार ५ सय ६ रहेको छ ।’ जस्तापाताले छाएको दुई कोठे घरमा भान्सा र बरण्डा निर्माणाधीन छ ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully