भूकम्प प्रतिरोधी पाँच तलाको गुल्मी अस्पताल भवन लिफ्टसहितको अपांगमैत्री हुनेछ ।
What you should know
गुल्मी — विशेषज्ञ डाक्टरसहितका दक्ष जनशक्तिले गुल्मी अस्पतालको सेवा प्रवाहमा विश्वास थपिरहे पनि निर्माणाधीन नयाँ भवनको ढिलासुस्तीले साँघुरै भवनबाट सेवा दिनुपर्ने बाध्यता छ ।
दुई वर्षमा निर्माणको काम सक्नुपर्ने ५० शय्याको गुल्मी अस्पतालका लागि तेस्रो पटक म्याद थपिएको थियो । यो म्याद पनि सकिन लागेको छ । बारम्बारको ताकेता र निगरानीका बीच पनि रङ्गरोगन, विद्युतीय काम र फिनिसिङ भने अझै बाँकी छ । पछिल्लो पटक गत आर्थिक वर्षको पुस मसान्तसम्म भवन निर्माणको म्याद थियो । कानुनी झन्झटले म्याद नथपिएकोमा गत असारमा थपिएको म्याद यही पुस १६ गतेसम्म छ ।
भारत सरकारको पूर्ण आर्थिक सहयोगमा पीएमसी कन्सल्टेन्ट सीएसआईआरमार्फत तत्कालीन सघन सहरी तथा भवन निर्माण कार्यालय रुपन्देही मार्फत काम भइरहको थियो । हाल यो सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट कार्यान्वयन भइरहेको छ ।
अस्पताल भवनको २०७८ असार १८ गते स्वच्छन्द/बानियाँ जेभीले भ्याटबाहेक कुल २५ करोड ९४ लाख रुपैयाँमा २०८० असार १७ गते सक्ने गरी जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर अरविन्द चौधरीले बताए । उनले हाल जनशक्ति थपेर दुई महिनामा काम सक्ने लक्ष्य राखेको बताए । निर्माण कम्पनीले पहिलो पटक ६ महिना, दोस्रो पटक १ वर्ष र ६ महिना म्याद नथपिकन काम र तेस्रो पटक ६ महिना म्याद थपिएको हो ।
अस्पताल भवन निर्माणमा आंशिक पेन्टिङ र इलोक्ट्रोनिकसहित फिनिसिङ्गको काम बाँकी छ । अहिले २८ जना कामदार मार्फत भइरहेको छ । भूकम्प प्रतिरोधी पाँच तलाको गुल्मी अस्पताल भवन लिफ्टसहितको अपाङ्गमैत्री भवन हुनेछ ।
दातृनिकायको तर्फबाट पीएमसी कन्सल्टेन्ट सीएसआईआरका इन्जिनियर सतिशकुमार यादव निर्माणाधीन अस्पताल भवनको निगरानी गरिरहेका छन् । बारम्बार ताकेता गरिरहेपनि काम नभएको भन्दै उनले अबको दुई महिनामा काम सक्ने आश्वासन पाएको बताए । गुणस्तरीयता, सुरक्षा र सम्झौता अनुसारको काम कार्यान्वयन र कार्यमुलक मुल्यांकनको निगरानी गरेको उनले बताए ।
सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवका अनुसार, गुल्मी अस्पतालको ८८ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । जसअनुसार ८० प्रतिशत वित्तीय प्रगति भएको छ । जून कुल २१ करोड ७३ लाख रुपैयाँ हो ।
अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा असहजता भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । ‘सेवा प्रवाह र सेवा बिस्तारमा निकै समस्या भइरहेको छ,’ उनले भने, ‘छिटो सकिए नागरिकलाई छिटो नै सहज रुपमा सेवा दिन सकिन्थ्यो ।’ उनले भवन निर्माणाधीन भएकै कारण आईसीयू थप र मिर्गौला डायलसिस सेवा विस्तार हुन नसकेको बताए । यद्यपि डायलसिस सेवा चलिरहेकै भएपनि थप बढाउन नसकिएको उनले बताए । बिरामीलाई चाहेजतिको संख्यामा सेवा दिन नसकेको पनि उनले बताए ।
रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नगरको तर्फबाट अस्पताललाई सुविधा सम्पन्न बनाउन लागे पनि निर्माण व्यवसायीले सास्ती दिइरहेको बताए । ‘सेवा सुविधा थपिँदै गएका छन्, अहिले हामीलाई कार्यालय भवनको मात्रै समस्या छ,’ उनले भने, ‘पटकपटक छलफल र ताकेता भएको छ, अब छिट्टै सकिनेमा आशावादी छौं ।’ निर्माण व्यवसायीलाई जनशक्ति थपेर काम गर्न भनिरहेको उनले बताए ।
गुल्मी अस्पतालमा बिशेषज्ञ डाक्टर टिकाउन रेसुंगा नगरपालिकाले छ जना विशेषज्ञ डाक्टरलाई प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ । गुल्मी अस्पतालमा पहिलोपटक छ जना विशेष डाक्टर र मेडिकल अधिकृतसहित १८ जना डाक्टरले सेवा दिइरहेका छन् । नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर टिकाउन प्रोत्साहन भत्तासहित, मिर्गौला डायलसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, नगरभित्रका दम र निमोनियाका बिरामीको घरघरमा अक्सिजन कन्स्नट्रेटर मेसिन सहयोग, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्ड सेवा लगायतका सेवा सञ्चालन गरिरहेको छ ।
निर्माणाधीन ५० शय्याको गुल्मी अस्पताल भवन । तस्बिर : सन्तोष/कान्तिपुर
