देश संघीय संरचनापछि गाउँमा स्थानीय तह बन्नु, कोरोना संक्रमण हुनु र रेमिट्यान्स कम भित्रिन थालेपछि जग्गाको भाउ ओरालो लागेको व्यवसायी बताउँछन्। ०६४ देखि ०७० सम्म हातको दुई लाखमा बेचेका घडेरी अहिले कारोबार गर्न समेत समस्या हुन थालेको छ।
What you should know
अर्घाखाँची — २०६२ अघिसम्म सन्धिखर्क र हललाइन–बसपार्क बजारको बीच गुण्टेखोला झाडी सहितको गहिरो खोल्सो थियो। सदरमुकामका दुई ठुला बजार सन्धिखर्क र चुत्रावेशी–हललाइन आउजाउ गर्न गोरेटो बाटो थियो। जहाँ एक्लै हिँडडुल गर्न डर लाग्दो खोल्सोलाई सन्धिखर्कका व्यवसायी बाबुराम सुनारले खोल्सोका झाडी, बाँस फाँडेर डोजर लगाएर सम्याए। निजी जग्गा सस्तो मूल्यमा किनेर समथर बनाएपछि उनले घडेरीमा टुक्र्याएर बिक्री गर्न सुरु गरे।
तत्कालीन जिल्ला विकास समिति सभापति गणेश थापाले सन्धिखर्क मिडिया चोक–हललाइन जोड्ने सडक निर्माण गरिदिएपछि जताततै समथर बन्यो र सुनारले गरेको प्लटिङमा मुलुकमा शान्ति प्रक्रियापछि घडेरीको भाउ छुट्टै पुग्यो।
करिब एक किलोमिटरको खोल्सामा एक सयभन्दा बढी घडेरी बिक्री भएको सुनारले बताए। ‘झाडी–जंगलसहित गहिरो डरलाग्दो खोल्सो थियो, त्यो पुरेर समथर भएपछि अहिले गुण्टेखोला बजार बनेको छ,’ उनले भने, ‘केही जग्गा मैले किनेर सम्याएँ, धेरै अरू व्यक्तिका जग्गा घडेरी बने।’
पहिलेको खोल्सो अहिले बाटो, चौपारी बनेको छ। गुण्टेखोला माथिको कुवा र किरियापुत्री ठाउँलाई व्यवस्थित गरिएको छ। ‘एक किमी दूरीको खोल्सो पुरेर घडेरी हातको दुई/अढाई लाख रुपैयाँसम्म बिक्री गरेँ, शान्ति प्रक्रियापछि घडेरी किन्नेको लहर नै चल्यो,’ सुनारले भने, ‘देश संघीय संरचनापछि गाउँमा स्थानीय तह बन्नु, कोरोना संक्रमण हुनु र रेमिट्यान्स कम भित्रिन थालेपछि जग्गाको भाउ ओरालो लाग्यो। ०६४ देखि ०७० सम्म हातको दुई लाखमा बेचेको घडेरी गत वर्ष हातको ८० हजारमा बल्लतल्ल बिक्री गरेँ।’
सन्धिखर्कमा कुनै बेला रोपनीको दुई करोड रुपैयाँ मूल्य थियो। अहिले घडेरीमा ६० प्रतिशत भाउ घटेको जग्गा कारोबार व्यवसायीहरूको भनाइ छ। रेमिट्यान्स र विभिन्न पेसा–व्यवसायको कमाइबाट रकम जमाएका धेरै व्यक्ति उद्योग, कलकारखाना खोलेर भन्दा घडेरीमै लगानीतर्फ लागे।
खेतीयोग्य जमिन, भीर–काल्ना, खोल्सा किनेर प्लटिङ गर्ने मध्येका बाबुराम भुसालले मसाल बजार, बाँगी खोला आसपास, सन्धिखर्क कुँडुले फाँटलगायत ठाउँमा खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गराए। कुँडुले फाँटको धेरै घडेरी अझै बेचिएको छैन। ती घडेरी ७० प्रतिशतभन्दा बढी मूल्य घटेको छ।
०६४ देखि ०७५ सम्म पेसा नै जग्गा व्यवसाय बनाएका व्यापारी अहिले कारोबार शून्यजस्तै भएको भुसालले बताए। ‘अव्यवस्थित भूभाग खरिद गरेर प्लटिङ गरी व्यवस्थित बसोबासको व्यवस्था गरिदियौँ,’ उनले भने, ‘जग्गा किनबेच उकालो लागेपछि खोल्सा, चिदी, पाखोबारी सबै समथर पार्दै बजारीकरण गर्यौँ। अहिले स्थिति फेरिएको छ।’
‘दश वर्षसम्मको द्वन्द्वमा संकलित रेमिट्यान्स, स्वदेशको कमाइ र सहर पस्ने चाहनाले घडेरीको भाउ उच्च बन्यो,’ उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप मिश्रले भने, ‘घर–घडेरीले मात्रै रोजगारी सृजना भएन र संघीयतापछि सदरमुकाम सुनसान बन्यो, कोरोनाले पनि ठुलो प्रभाव पार्यो।’ उनका अनुसार अहिले कारोबार र व्यवसाय दुवै घटेका छन्।
तराईसँग जोडिएको जिल्ला भएकाले यहाँबाट बसाइसराइको पहिलो रोजाइ बुटवल, कपिलवस्तु, दाङतर्फै हुने गरेको मिश्रले बताए। ‘पैसा भएकाहरू सदरमुकाममा भन्दा तराईमा घर–घडेरी रोज्छन्,’ उनले भने।
सदरमुकाम आसपासका भीर–पाखा, खेत–बारी प्लटिङबाट समथर भएर बजारमा परिणत भएका छन्। शान्ति प्रक्रियापछि एक दशकमा बजारको स्वरुप नै फेरिएको चुत्रावेशीका चेम्बर अफ कमर्स अध्यक्ष अशोक श्रेष्ठले बताए। अहिले घर बनाउनेको संख्या निकै घटेको उनले उल्लेख गरे।
मालपोत कार्यालयका अनुसार सदरमुकाममा जग्गा किनबेच छिटपुट मात्रै छ। मूल्य घटे पनि कारोबार न्यून छ। सन्धिखर्क नगरपालिकामा नयाँ घर बनाउन नक्सा पास गर्नेहरूको संख्या पनि अहिले धेरै कम छ।
