गुलरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
बर्दिया — दुई दिनमा दुई ठाउँमा परालका टौवामा आगलागी भएको छ । गुलरिया नगरपालिका–३ कट्टी गाउँमा आइतबार दिउँसो र ठाकुरबाबा नगरपालिका–५ बनवीरपुरमा शनिबार अबेर परालको टौवामा आगलागी भएको हो ।
कट्टीस्थित ४ वर्षीय बालकले सलाई कोरेर खेलाउने क्रममा घर नजिकै रहेको परालको टौवामा आगलागी भएको स्थानीयले बताए । आगलागी हुँदा नजिकै बाँधिएको एउटा भैंसी र गाई जलेका प्रहरीले जनाएको छ । गुलरिया नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
यस्तै ठाकुरबाबा नगरपालिका–५ बनवीरपुरका पुष्माखर उपाध्यायको घरदेखि दश मिटर दूरीमा रहेको परालको टौवामा शनिबार आगलागी हुँदा गाईको बाच्छी जलेको र सँगै बाँधिएको गाईको घाँटीमा आगोको लप्काले पोलेको प्रहरीले जनाएको छ ।
