बर्दिया निकुञ्ज र आसपास गरी करिब ४ सय ५० क्यामेराको आवश्यकता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए।
What you should know
बर्दिया — यस वर्ष पुस पहिलो साताबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना गरिने भएको छ। बाघ गणनाका लागि क्यामेराको व्यवस्था अझैसम्म हुन सकेको छैन।
क्यामेरा ट्रापिङ प्रविधिबाट गणना गरिने भएकाले अहिलेसम्म व्यवस्थापन हुन नसकेको बर्दिया निकुञ्जले जनाएको छ। बर्दिया निकुञ्ज र आसपास गरी करिब ४ सय ५० क्यामेराको आवश्यकता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए। एउटा क्यामेराका लागि करिब ५० हजार मूल्य लाग्ने अनुमान उनले गरे।
राष्ट्रिय निकुञ्ज विभागले देशभरका सबै राष्ट्रिय निकुञ्जसहित आसपासका वनमा बाघ गणना आउने पुस पहिलो साताबाट गर्ने तयारी भएको जनाएको छ। तर क्यामेराको व्यवस्था नहुँदा निकुञ्जका अधिकारी अन्यौलमा छन्। बाघको गणना चितवन–पर्सा, बाँके, बर्दिया र शुक्ला राष्ट्रिय निकुञ्ज र लालझारी कम्प्लेक्समा हुने राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ।
निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्रापिङको सहयोगमा गणना गरिने भएको छ। निकुञ्जबाहेक खाता जैविक मार्ग र आसपासका क्षेत्रमा पनि बाघको गणना हुने भएको छ। बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई मंसिर अन्तिम साताबाट प्रशिक्षण दिने भएको छ। बाघ गणना २१ दिनसम्म हुने भएको छ।
बर्दिया निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बाघ गणनाका लागि पर्याप्त क्यामेरा नभएको बताए। राष्ट्रिय निकुञ्ज विभागका वरिष्ठ इकोलोजिस्ट हरि भद्र आचार्यले क्यामेराको पहल भइरहेको बताए। ‘सबैसँग क्यामेराका लागि कलेक्सन भइरहेको छ’, उनले भने, ‘बाघ गणनाका लागि ४ हजार क्यामेराको आवश्यकता पर्छ।’ बाघ गणनाका लागि ३ करोड खर्च लाग्ने अनुमान राष्ट्रिय निकुञ्ज विभागको छ।
बाघ गणनाका लागि सय जना भन्दा बढी निकुञ्ज, विश्व वन्यजन्तु कोष, प्रकृति संरक्षण कोषलगायत दक्ष प्राविधिक टोली तथा कर्मचारी खटिने भएका छन्। बाँके र बर्दियामा एकैसाथ ब्लक बनाएर गणना गरिने भएको छ। बाघ गणनाका समयमा करिब एक दर्जन पालुवा हात्ती सुरक्षाका लागि खटिने निकुञ्जले जनाएको छ।
पहिलो पटक बाघ गणना २०१८ मा भएको थियो। त्यस समय बर्दियामा बाघको संख्या ८७ पुगेको थियो। सन् २०१३ मा गणना हुँदा बर्दिया निकुञ्जमा ५० वटा बाघ थिए। चार वर्षअघि बाघ गणना गर्दा बर्दियामा संख्या १ सय २५ पुगेको थियो।
