एमाले महाधिवेशन प्रतिनिधि छनोट : लुम्बिनीमा छैन 'रस्साकस्सी'

८२ हजार १ सय ३५ पार्टी सदस्यबाट १ सय ९० जना प्रतिनिधि चयन हुँदै, सबै जिल्लामा सर्वसम्मतको प्रयास

मंसिर ११, २०८२

घनश्याम गौतम

UML General Convention delegate selection: No 'tug of war' in Lumbini

What you should know

बुटवल — एमालेको ११औं महाधिवेशनका लागि लुम्बिनीमा अन्यत्र जस्तो रस्साकस्सी देखिएको छैन । केन्द्रीय उच्च तहमा रहेका मुख्य नेता नै नखुलेपछि विद्या भण्डारी र ईश्वर पोखरेलको समूह लुम्बिनी प्रदेशमा कमजोर देखिएको छ । 

एमालेले बिहीबारदेखि ११ औं अधिवेशनका लागि प्रतिनिधि छनोट सुरु गरेको छ । बिहीबार प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनी प्रदेशमा मात्र एमालेका ८२ हजार १ सय ३५ संगठित सदस्य रहेका छन् । तीमध्येबाट भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय ९० जना प्रतिनिधि चयन हुँदैछन् । 

लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी छन् । रायमाझी निलम्बनमा परेपछि अहिलेको कार्यसमितिमा ६ पदाधिकारी छन् । तर, तीमध्ये अहिलेसम्म कुनै पनि नेता विद्या भण्डारी र ईश्वर पोखरेल पक्षमा नखुलेकाले सिंगो लुम्बिनी प्रदेशमा केपी ओली पक्ष नै हाबी देखिएको छ । यद्यपि प्रतिनिधि छनोट भएपछि धेरैले कित्ता परिवर्तन गर्न सक्ने आशंका नेताहरूमा छ । 

एमाले प्रदेश अध्यक्ष कँडेलका अनुसार लुम्बिनीबाट हरेक ३ जना प्रतिनिधिमध्येबाट १ महिना अनिवार्य गरिएको छ । त्यसरी छनोट गर्दा ५३ जना महिला, १९ जना दलित र ४० वर्षमुनिका कम्तीमा २६ युवा अनिवार्य छनोट हुनेछन् । खुल्ला पदमा ८० जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश कमिटीबाट ५ र मजदुर संगठनबाट ७ जना छनोट हुँदा १ सय ९० जना प्रतिनिधि ११ औं अधिवेशनमा सहभागी हुने अध्यक्ष कँडेलले बताए । ‘प्रतिनिधि छनोटमा कुनै रस्साकस्सी छैन,’ उनले भने, ‘छनोट भइसकेपछि के हुन्छ, त्यो उनीहरूकै कुरा भयो ।’ उनले सकेसम्म धेरै जिल्लामा सर्वसम्मत रूपमै प्रतिनिधि चयन हुने र नमिलेका जिल्लाहरूमा मात्र निर्वाचन प्रक्रियाबाट छनोट हुने बताए ।

रुपन्देहीका एक एमाले नेताका अनुसार अहिले उपाध्यक्ष विष्णु पौडेल मौन देखिएको र अलिअलि खुलेका सचिव गोकर्ण विष्टले पनि प्रभावकारी भूमिका निर्वाह नगरेकै कारण विद्या पक्षधरहरू मौन बसेको बताए । ‘प्रतिनिधि छनोटअघि नै रस्साकस्सी गर्दा छनोट नै नहुने अवस्था बुझेकाले धेरै मौन बसेर प्रतिनिधि चयनमा सहभागी हुने प्रयासमा भएको देखिन्छ,’ उनले भने, ‘त्यसपछि बल्ल रस्साकस्सी सुरु हुने हो ।’

ती नेताको दाबीअनुसार अधिवेशनमा निर्वाचन हुने वातावरण तयार भएको अवस्थामा लुम्बिनीबाट ३५ प्रतिशतभन्दा बढी मत परिवर्तन हुन सक्ने अवस्थामा छन् । लुम्बिनी प्रदेशको प्यूठान जिल्लाले सर्वसम्मत प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । अन्य जिल्लामा बुधबार नामावली प्रकाशन गरेर प्रक्रिया सुरु भएको र बिहीबारदेखि मनोनयन हुने प्रदेश प्रचार विभाग सचिव डीआर घिमिरेले बताए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully