मधुवनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले मंसिर ११ देखि १८ गतेसम्म महोत्सवका साथै ज्ञान महायज्ञ आयोजना गरेको हो ।
What you should know
कपिलवस्तु — गौ संरक्षण गर्दै सनातन संस्कृतिको जगेर्ना र गाई पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ८ दिने भागिरथी गौ संरक्षण महोत्सव सुरु भएको छ । महोत्सवलाई प्रभावकारी रूपमा सम्पन्न गर्न श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ पनि सुरु गरिएको छ । महाेत्सव मंसिर ११ देखि १८ गतेसम्म संचालन हुनेछ ।
वाणगंगा नगरपालिका–८ मधुवनमा ‘संस्कृति समृद्धि र समादरका लागि गौ संरक्षण’ भन्ने मूल नाराका साथ वाणगंगाको लौगाईबाट बिहीबार सुरु भएको कलश यात्रा मधुवनमा गएर सकिएको थियो । बाजागाजा, धार्मिक गीत र भजनसहित विभिन्न जातीय पोसाकमा नाचगान गर्दै र्याली मधुवन पुगेको हो ।
वैदिक सनातन संस्कृति र मानवीय आजीविकाको प्रमुख आधार गाई भए पनि पछिल्लो समय चारैतिरबाट गाई जोखिममा परेकाले संरक्षणका लगि अभियान चलाउन महोत्सव गरिएको कार्यक्रमका परिकल्पनाकार गुणनिधि भुसालले बताए । अहिले गाई वेवारिसे छाड्ने, दुर्घटनामा परेर घाइते हुने र मृत्यु हुने भएर युवा पुस्तालाई नकारात्मक सन्देश गइरहेकाले सुधारका प्रयास अवलम्बन गर्न थालिएको हो । सनातन धर्म संस्कृति तथा राष्ट्रिय जनावरको प्रतीक गाईको संरक्षण स्वतस्फुर्त रूपमा गराउन आध्यात्मिक जागरणबाट मात्र सम्भव छ भनेर महायज्ञ पनि सुरु गरिएको आयोजकको दाबी छ ।
महायज्ञबाट गाई संरक्षण गर्न सचेतनासाथै यसको महत्त्व, उपादेयता र आकर्षणबारे ज्ञान दिइनेछ । दैनिक विज्ञ धार्मिक गुरुबाट गाईबारे प्रवचन र सचेतना फैलाइने कार्यक्रम पनि रहेको छ ।
वाणगंगा नगरपालिकाको शान्तकुञ्ज मधुवन धाम धार्मिक वनमा गौशाला बनाइएको छ । वनले गौशालालाई ५३ बिघा जग्गा निःशुल्क उपलब्ध गराएको हो । अहिले सेड राखेर ६ वटा गोठ बनाइएको छ । २० वाई ५५ फिटको एउटा गौशालामा ५० वटा गाई बस्न सक्ने सेड बनाइएको छ । ५ वर्षभित्र २० वटा बनाउने लक्ष्य राखिएको आयोजक संस्था भागीरथी गौ संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले बताए । अहिले करिब ४ सय गाई संरक्षण गरिएको छ ।
बिस्तारै गौशालाको स्तरोन्नति गर्दै एक हजार गाई पाल्ने योजना छ । गौशालामा अहिले छाडा, उपेक्षित, घाइते तथा दुर्घटनामा परेका गाई रहेका छन् । घाइते गाईको उपचार, उद्धार र संरक्षण गरिराखिएको छ । अहिलेसम्म ३ करोड लगानी भइसकेको छ । वाणगंगा नगरपालिका, मधुवन धाम, स्थानीय सहयोग र चन्दादाताबाट उक्त रकम उठेको हो । ४ वर्षदेखि छिटफुट रूपमा गौ संरक्षण गर्दै आएको उक्त ठाउँमा ०८१ देखि व्यवस्थित रूपमा गाई संरक्षण गर्दै आइएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका, कंचन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि त्यहाँ छाडा गाई लगेर व्यवस्थापन गरेको छ । व्यक्तिले पनि आफूसँग रहेको गाई व्यवस्थापन गर्न चाहे एकपटक मात्र प्रतिगाई २ हजार ५ सय दिएर गर्न सक्ने सुविधा छ । ६ जना हेरालु राखेर काम गरिएको छ ।
गाई संरक्षणका लागि डीपीआरसमेत बनाइएको छ । त्यसको लागत १६ करोड रहेको छ । जोखिममा परेका गाईको संरक्षण सबै मानव जातिको दायित्व भएको हो । त्यसमाथि सबै प्राणीप्रतिको समभाव, प्रेम र करुणा सनातन संस्कृति भएकाले गौ पर्यापर्यटनको आकर्षणको केन्द्र बनाउने गरी योजना गरिएको भागीरथी गौ संरक्षण विकास केन्द्रका सचिव गोविन्द कँडेलले बताए । यहाँबाट गाईलाई संरक्षण गर्दै कसरी गौ पर्यापर्यटनको बहुआयामिक विकास र फाइदा लिन सकिन्छ भनेर अध्ययन अवलोकन गर्ने मुलुककै उत्कृष्ट गन्तव्य बनाइने उनले बताए ।
गाई पाल्नेमात्र नभई त्यसबाट प्राङ्गारिक मल निर्माण, प्राकृतिक विषादी निर्माण, बायोग्यास उत्पादन र दुध दही घ्यु उत्पादन लगायतका काम गरेर सनातन पहिचानयुक्त नमुना गौशाला संचालन गर्ने बताइएको छ । जहाँ सनातन संस्कृतिको संरक्षण, प्राणीको समादर र मानवीय आजीविकाको आधार तयार गर्ने बताइएको छ । मधुवनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले मंसिर ११ देखि १८ गतेसम्म महोत्सवका साथै ज्ञान महायज्ञ आयोजना गरेको हो । महोत्सवको उद्घाट्न लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले गरेका थिए ।
गाई मानव जीवनमा आजीविकाको आधारशीला पनि हो, यिनै मूलभूत मान्यतालाई आत्मसात गर्दै वाणगंगा नगरपालिकाको विशेष पहलमा गौसंरक्षणको क्षेत्रमा विशेष भूमिकासहित नेतृत्व गर्न भागीरथी गौ संरक्षण विकास केन्द्रको स्थापना र संचालन गरिएको छ । यसले जिल्लामा रहेको छाडा चौपाया समस्या केही हदसम्म समाधान हुने विश्वास पनि लिइएको छ ।
