रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा पहिलो पटक राम–सीता विवाह उत्सव आयोजना गरिएको हो ।
What you should know
पाल्पा — पाल्पाको रामपुर नगरपालिका क्षेत्रको धार्मिक एवं पर्यटकीय क्षेत्रको उजागर गर्न ‘राम-सीता’ विवाह उत्सव मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा पहिलो पटक राम–सीता विवाह उत्सव आयोजना गरिएको हो ।
कालीगण्डकी नदी तटमा रहेका विभिन्न स्थानमा त्रेतायुगका राम र सीता बसोबास गरेको धार्मिक मान्यलाई प्रचारप्रसार गर्न विवाह उत्सव मनाइएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।
‘रामपुर नगरपालिकाको संकल्प यस दिव्य कार्यक्रममा हजारौंको उपस्थिति नै हाम्रा लागि सहयोग हो,’ उनले भने, ‘कार्यक्रम आयोजना नगरपालिकाले गरे पनि यस क्षेत्रका सबै नागरिकको सहयोगले सफल भएको छ ।’ विवाह उत्सवमा पाल्पाबाहेक स्याङ्जा, तनहुँ, नवलपरासी, रुपन्देहीलगायतका स्थानमा बसोवासगर्नेहरुसमेत सहभागी हुन आएका थिए ।
रामपुर नगरपालिका क्षेत्रको कालीगण्डकी तटीय क्षेत्रमा रहेका रामघाट, रामकुवा, रामचुलो, राम मन्दिर र राम्चे हुँदै सीताको बसोबास गरेको स्थान सीताकुण्ड टापुमा पुगेका थिए । हजारौँ नागरिकको सहभागिताले स्थानीय बासिन्दालाई पनि हौस्याएको रामपुर नगरपालिका–३, का दुर्गेश मल्लले बताए । वैदिक र स्थानीय परम्पराअनुसार भएको विवाह उत्सव कार्यक्रमले सीता कुण्डका बासिन्दालाई थप हौसला प्रदान गरेको उनले बताए । कालीगण्डकी उपत्यका क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा बढावा मिल्ने अभियन्ता सन्दीप रानाले बताए ।
रामपुर क्षेत्र भगवान् राम र सीताले वनवासको क्रममा विचरण गरेको ऐतिहासिक भूमि हो । रामपुर नगरपालिकाको रामघाटदेखि जन्तीसहित भक्तजनहरू सीताकुण्ड पुग्दा स्थानीय बासिन्दाले निकै उत्साहका साथ स्वागत गरेका थिए । कालीगण्डकी नदी किनारको रामघाट बरियात (जन्ती) टोली सीताकुण्ड पुगेको थियो । विभिन्न झाँकीसहित सीताकुण्ड पुगेको टोलीलाई वडा नम्बर ३ र ४ सीताकुण्ड बासिन्दाले माइती पक्षका रूपमा स्वागत गरेका हुन् ।
जन्तीलाई ८४ पूजा गरिसकेका ज्येष्ठ नागरिकहरुले आशिर्वाद दिएर बिदाई गरेका थिए । रामपुरको कोइलाटारीस्थित यज्ञ परिक्रमा गरी राम चुल्हो रहेको स्थान राम मन्दिर पुगेको थियो । राममन्दिरबाट कसार, दहीसहितको सगुन खुवाइएको थियो । टोलीलाई विभिन्न स्थानमा टोल विकास संस्था सहित विभिन्न समूहले ठाउँठाउँमा स्वागत गरेका थिए ।
पञ्चेबाजासहित विभिन्न जातजातीका झाँकीसहित पुगेको महन्त, बटुक सहितको जन्ती टोलीलाई सीताकुण्डमा माईती पक्षले वैवाहिक संस्कारसहित स्वागत तथा सम्मान गरेका थिए । सीताकुण्डमा पुगेको टोलीलाई पञ्चे बाजा तथा अन्य विभिन्न जातजातिका झाँकीसहित माइती पक्षले स्वागत गरेका थिए । कालीगण्डकी तटीय क्षेत्र रामपुरमा भगवान राम र सीता तीन महिनासम्म बसोबास गरेको विभिन्न ग्रन्थहरूमा उल्लेख रहेको मूल पण्डित हरिप्रसाद खनालले बताए ।
