लुम्बिनी प्रदेशमा तस्कारी मौलायो : मुख्यमन्त्री आचार्य

मु्ख्यमन्त्री आचार्यले तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको र उनीहरुलाई तेजोबध गरेर तस्करीको काम भइरहेको बताए ।

मंसिर ९, २०८२

दीपेन्द्र बडुवाल

Smuggling is on the rise in Lumbini Province: Chief Minister Acharya

भैरहवा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका सीमावर्ती जिल्लामा तस्करी मौलाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सुरक्षाकर्मीको मनोबल गिरेकाले सीमावर्ती जिल्लामा तस्करी मौलाएको उनले बताए । 

‘तस्करी नियन्त्रण जरुरी छ,’ मंगलबार बिहान भैरहवामा सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै उनले भने, ‘तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको छ । सुरक्षाकर्मीलाई तेजोबध गरेर तस्करीको काम भइरहेको छ ।’ सीमावर्ती जिल्लामा जबरजस्ती भन्सार छलेर समान ओसार्ने कार्य रोकिनुपर्ने उनको भनाइ थियो । 

अहिले पनि जिल्लामा सुरक्षाकर्मीमाथि आक्रमण गरेर मनोबल गिराउने काम भइरहेकाले सुरक्षा प्रमुख यस विषयमा गम्भीर हुनुपर्ने उनले बताए । ‘अराजक समूहलाई कानुनी कारबाही गरेनौं भने जनताले सुरक्षित महसुस गर्ने वातावरण छैन,’ उनले भने, ‘लुटिएका हतियार र कारागारबाट फरार व्यक्ति छाती फुलाएर हिँडिरहेका छन् । यसले सुरक्षाकर्मी र कर्मचारीको मनोबल उकास्न सकिएको छैन ।’ यसतर्फ गृहमन्त्री र मातहत निकाय सजग हुनुपर्ने उनले बताए। 

गृहमन्त्री ओमप्रकाश अर्यालले लुम्बिनी प्रदेशमा राजस्व चुहावटको जोखिम रहेको औल्याउँदै मन्त्रालयले त्यसमा शून्य सहनशीलताको नीति अपनाएको बताए । ‘राजस्व चुहावटमा सरकारी संलग्नताको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘राजस्व चुहावटमा भइरहेका कमीकमजोरीबारे सरकारले निगरानी गरिरहेको छ । सबैले व्यावसायिक आचरणमा रहेर कानुन पालना गर्न जरुरी छ ।’

जुनसुकै आवरणमा गरिने गलत कार्य रोकिनुपर्ने जनाउँदै उनले त्यस्ता क्रियाकलापको निगरानी थालिएको बताए ।

दीपेन्द्र बडुवाल

Link copied successfully