सरकारले गत साता कोषको सदस्य सचिवमा गोरखाका इन्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।
भैरहवा — आन्तरिक प्रतिस्पर्धा र स्थानीय व्यक्तिलाई बेवास्ता गरिएको उल्लेख गर्दै 'लुम्बिनी बचाऊ महाअभियान'ले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गरिएको नियुक्ति बदर गर्न माग गरेको छ । अभियानले आइतबार कोषका उपाध्यक्ष ल्याहारक्याल लामालाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको समृद्धि र गरिमा बचाउन उक्त नियुक्त बदरको माग गरेको हो ।
सरकारले गत साता कोषको सदस्य सचिवमा गोरखाका इन्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरिसकेको छ । लामो समयदेखि कोषको सदस्य सचिवमा स्थानीयले मौका पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको महाअभियानले यस्तो माग गरेको हो ।
अभियानका अगुवा रामविकास चौधरीका अनुसार सदस्य सचिवको नियुक्तिमा यसअघि स्थापित प्रतिस्पर्धाको नियम उल्लंघन गरिएको छ । जसले गर्दा विवाद सुरु भएको उनको भनाइ छ । नियुक्तका क्रममा स्थानीय सरोकारवाला, बुद्धीजिवी र अभियानकर्मीसित परामर्श नगरिएकोमा उनले आपत्ति प्रकट गरे ।
‘लुम्बिनीको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्त्व बुझेको योग्य व्यक्तिलाई सदस्य सचिव पदमा नियुक्त गरियोस् भन्ने माग छ,’ अभियानले बुझाएको विज्ञप्तीमा उल्लेख छ,‘हाम्रो शान्तिपूर्ण र जिम्मेवारपूर्वक गरिएको मागलाई बेवास्ता गरिए लुम्बिनी बचाऊ महाअभियान जनताको साथ लिएर संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछ ।’ परम्परादेखि लुम्बिनीको माटोसित परिचित व्यक्तिलाई लत्याउँदैं कोषमा गरिने नियुक्तिले स्थानीयको मर्ममा चोट पुर्याउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
