'पावर लिफ्टिङ' प्रतिष्पर्धामा बुटवलका अनमोल प्रथम

'पावर लिफटिङ'मा भैरहवालाई पनि स्थापित गर्न एकल लगानीमा प्रतिष्पर्धा आयोजना गरिएको हाे ।

मंसिर ९, २०८२

दीपेन्द्र बडुवाल

Anmol from Butwal wins first in 'Power Lifting' competition

What you should know

भैरहवा — रुपन्देहीको सिद्धार्थनगर–८ स्थित नोक्स बारवेलले पहिलोपटक भैरहवामा आयोजना गरेको ‘मोक मिट २०२५’ अन्तर्गत सञ्चालन भएको पावर लिफ्टिङ प्रतिष्पर्धामा बुटवलका अनमोल शाक्य प्रथम भएका छन् ।

नोक्स बारवेलका सञ्चालक चेतकाजी गुरुङका अनुसार उक्त प्रतिष्पर्धामा बुटवलका सचीन थापा क्षेत्री दोस्रो र बुटवलकै अर्पण श्रेष्ठले तेस्रो स्थान हाँसिल गरे । 

सञ्चालक गुरुङका अनुसार ‘मोक मिट २०२५’ अन्तर्गत दुई वटा स्पर्धा भएका थिए । मंगलबार बिहान ९ बजेबाट फ्राइडे ब्लाष्ट आयोजना गरिएको थियो । यस अन्तर्गत महिला र पुरुष बीच सर्किट प्रतिष्पर्धा सञ्चालन गरिएको थियो । 

फ्राइडे ब्लाष्ट अन्तर्गत पुरुषतर्फ पोखराका बिशाल गिरी प्रथम र भैरहवाका पवन शाह दोस्रो भए । महिलातर्फ नोक्स बारवेलकी सोनम मल्ल प्रथम भइन् । बिहान फ्राइडे ब्लाष्ट प्रतियोगितापछि दिउँसो पावर लिफ्टिङ प्रतिष्पर्धा सञ्चालन गरिएको थियो । यसमा कपिलवस्तु, रुपन्देहीका बुटवल, भैरहवा, सैनामैना, चितवन र पोखराका शारिरीक सुगठनका खेलाडी सहभागी भएको गुरुङले बताए । 

भैरहवामै यस्ता खेलाडी उत्पादन गर्न स्थापना भएको ६ महिनामै नोक्स बारवेलले पहिलोपटक प्रतियोगिता आयोजना गरेको जनायो । यसमा तौल समूह छुट्याइएको थिएन । जसले गर्दा खुला स्पर्धा सञ्चालन भएका थिए । 

प्रतियोगितामा प्रो बडिविल्डर सन्जीवकुमार श्रेष्ठ मुख्य निर्णायक थिए । दोस्रोमा दीपेश श्रेष्ठ र तेस्रोमा आयोजक गुरुङ आफै निर्णायक रहेका थिए । प्रतियोगितामा दुई दर्जन खेलाडी सहभागी थिए । ‘पावर लिफटिङमा भैरहवालाई पनि स्थापित गर्न एकल लगानीमा प्रतिष्पर्धा आयोजना गरिएको हो,’ गुरुङले भने, ‘अब भैरहवाबाट पनि मुलुकका विभिन्न स्थानमा आयोजना हुने प्रतिष्पर्धामा खेलाडी सहभागी हुनेछन् ।’ कार्यक्रम आयोजनाका लागि सिद्धार्थनगर–८ का विनय कसौंधनले खेलाडी संयोजन गरेका थिए ।

दीपेन्द्र

Link copied successfully