लुम्बिनी प्रदेश सभाको हिँउदे अधिवेशनको पहिलो बैठक आज

प्रदेश प्रमुखले पत्रको जानकारी दिने र अधिवशेन सफलताको शुभकामना आदानप्रदान गर्ने कार्यसूची

मंसिर ८, २०८२

घनश्याम गौतम

The first meeting of the winter session of the Lumbini Provincial Assembly is today.

What you should know

बुटवल — लुम्बिनी प्रदेश सभाको सातौं (हिँउदे) अधिवेशन आजदेखि सुरु हुन लागेको छ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ. अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ । 

सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाउने र प्रदेश सभा सदस्यहरुको उपस्थिति–अनुपस्थितिको जानकारी दिने कार्यसूची रहेको सचिव पुनले बताए । 

त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोमबारबाट सुरु भएको सातौं अधिवेशन लगातार ५ दिन चलाउने दलहरुबीच सहमति भएको छ । अधिवेशनमा छलफलका लागि प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नका लागि स्वीकृति दिएको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका लागि पेश गर्न केही विधेयकहरु स्वीकृत गरेको छ । बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी विधेयक स्वीकृत गरेको थियो । 

त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । 

सभामुख तुलाराम घर्तीमगरले सोमबारबाट शुरु हुने प्रदेश सभा बैठकका लागि सरकारले केही बिजनेश दिएको र थप आउने तयारीमा रहेकाले हिंउदे अधिवेशन नियमित चल्ने बताए । 

‘केही बिजनेस प्रदेश सभामा आइसकेका छन्, केही सरकारले पठाउने तयारी गरेको छ,’ उनले भने, ‘त्यसैले हामीले नियमित बैठकहरु राख्ने प्रयास गरिरहेका छौं ।’ मुलुकमा भएको राजनीतिकि परिवर्तन र जेन–जी प्रदर्शनपछि लुम्बिनी प्रदेश सभामा पहिलो पटक बैठक बस्न थालेको हो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully