पाल्पाका गाउँगाउँमा ‘न्वागी महोत्सव’ को रौनक

नयाँ चामल देवीका मन्दिरमा चढाएपछि मात्रै भान्सामा

मंसिर ८, २०८२

माधव अर्याल

The excitement of 'Nwagi Festival' in the villages of Palpa

What you should know

पाल्पा — तिनाउ गाउँपालिका–२, झ्याङ्लाका रूद्रबहादुर जीसीले गत असोजको अन्तिम साता घरमा नयाँ धान भित्र्याए । तर उनले त्यो धानको चामल भने मंसिर पहिलो साता देवीलाई चढाएपछि मात्र प्रयोगमा ल्याए। हाइब्रिड धान लगाउने भएकाले धान छिटो पाक्छ । तैपनि छिट्टै पाकेको धान बिक्रीसमेत गरिँदैन ।

जति छिटो पाके पनि मंसिरको पहिलो साता नयाँ धान देवीलाई चढाएपछि मात्र बिक्री गर्ने र घरमा खानका लागि चामल प्रयोग गर्ने प्रचलन रहेको उनले बताए। ‘जति छिटो धान पाकोस् तर मंसिर पहिलो साता देवीलाई नचढाइकन प्रयोगमा ल्याइँदैन,’ उनले भने, ‘अहिले होइन जिजुबाजेकै पालादेखिको परम्परा हो।’

दोभानको झ्याङ्ला मात्र होइन तिनाउ गाउँपालिका, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाको दर्जनौँ बस्तीमा यस्तै परम्परा छ। यस भेगका सबै जातजातिले यही चलनलाई पछ्याइरहेको दोभान झ्याङ्लाका शेरजंग थापाले बताए। उनका अनुसार १ सय ३२ वर्षदेखि देवीलाई चढाएर मात्र खाने प्रचलन झ्याङ्लामा छ।

The excitement of 'Nwagi Festival' in the villages of Palpaगाउँको माथिल्लो भागमा रहेको खाँडदेवी मन्दिरमा सबै गाउँले जम्मा हुने गर्छन्। सोही स्थानमा सबैले नयाँ धानको चामल जम्मा गरेर विधिपूर्वक चढाउने परम्परा रहेको थापाले बताए। ‘उहिले यहाँ मगर बस्ती थियो,’ उनले भने, ‘त्यसबेलादेखि नै चामल चढाएर खाने प्रचलन रहेको जनविश्वास छ।’ देवीदेवताहरूलाई चढाएर मात्र चामल खान थालेपछि गाउँमा कुनै अनिष्टसमेत नभएको उनले बताए। 

यसलाई पछिल्लो १२ वर्षयता ‘न्वागी महोत्सव’ संस्कृति मनाउने परम्परा बसाइएको छ। पछिल्ला वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारले रमाइलो गर्ने गर्छन्। तिनाउका कचल, आर्खुदी लगायतका गाउँमा पनि न्वागी महोत्सव मनाउन थालिएको छ।

तिनाउ मात्र होइन रैनादेवी छहराको भुवनपोखरी रैनादेवी मन्दिरमा पनि न्वागी महोत्सव आयोजना गरिँदै आएको छ। रैनादेवीमा दाउराले ढाकेको खाल्डोमै पूजा गर्ने प्रचलन छ। यहाँ पनि न्वागी महोत्सव नै मनाउने परम्परा बसेको छ। पाल्पा, गुल्मी र अर्घाखाँचीका बासिन्दाले रैनादेवीका रूपमा पूजा गर्छन्। यहाँ न्वागीमा बाहेक दसैँ, वैशाख पूर्णिमामा पूजा हुन्छ। अन्य समयमा पनि भाकल अनुसारको पूजा गर्ने प्रचलन रहेको वडाध्यक्ष प्रदीप पौडेलले बताए। 

देवीलाई चढाएपछि घरघरमा प्रसादका रूपमा काँचो चामल, दही, केरा, सिलाम, फलफूल मिसाएर खाने गरिन्छ। मन्दिर परिसरमा गाउँका सबै भेला हुन्छन्, त्यसपछि नाचगान सुरु गर्ने प्रचलन छ। रातभर नाचगान गर्ने चलन छ। न्वागी महोत्सवमा आफ्नो संस्कृति, कला, भेषभूषा पनि प्रदर्शन गरिन्छ। रैनादेवी छहरा गाउँपालिकाले मंसिर ७ गतेलाई स्थानीय विदासमेत दिएको छ। वर्षौँदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत् मेला लाग्ने गरेको छ।

The excitement of 'Nwagi Festival' in the villages of Palpaदसैँ, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गर्छ। न्वागीका अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी (ठूलो नाच), मालाश्री, रत्यौली, झाम्रे, चुड्का, लाखे, कौडा लगायत विभिन्न जातजातिका स्थानीय मौलिक कला–संस्कृतिको प्रस्तुति गर्ने प्रचलन भुवनपोखरीमा रहेको वडाध्यक्ष पौडेलले बताए।

रैनादेवीमा प्रचलित किंवदन्तीअनुसार रैनादेवी मन्दिरनजिकै न्यौपाने ब्राह्मणले गाई पाल्ने र छहरी मगर गोठाला थिए। गाईले दूध नदिएपछि उनीहरूले पिछा गर्दै जाँदा जंगलको बीचमा सुनको मौलोमा गाईले दूध चढाएको देखे। दुवै जना सुनको मौलो खोज्दै गए। जति खन्यो उति भासिँदै गयो। मौलोको केही भाग मात्र देखियो। देखिएको भाग भाँचेर ल्याउन खोज्दा रगत निस्कियो। यहाँ देवी रोइकराई उत्पन्न भएको धार्मिक विश्वास रहेको किवंदन्ती छ। खनेको खाल्डो अहिलेसम्म भएको जनविश्वासका आधारमा अझै पनि सोही खाल्डोमै पूजा गरिन्छ। देवीको पूजा गर्ने स्थानमा काठका डाँडाभाटाले छोपेर राखिएको छ। त्यसैलाई मन्दिरको स्वरूप दिइएको छ।

The excitement of 'Nwagi Festival' in the villages of Palpaरैनादेवी भुवनपोखरी क्षेत्रका सबै समुदायले कुनै नयाँ काम गर्दा, पहिलो पटक घ्यू तताउँदा, भैंसी ब्याउँदा, परदेश जाँदा, विवाहलगायतका अन्य शुभकार्य गर्दा पहिले रैनादेवीलाई सम्झने र प्रसाद चढाउने प्रचलन छ। 

The excitement of 'Nwagi Festival' in the villages of Palpa

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully