सुधार केन्द्रभित्रै कुटपिटबाट मृत्यु भएको आफन्तको दाबी, अनुसन्धानका लागि ६ जना पक्राउ ।
What you should know
बुटवल — सुधार केन्द्रमा राखिएका व्यक्तिको शंकास्पद मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीमा रहेको करुणा चौतारी फाउन्डेसनद्वारा संचालित (लागूऔषध) मध्यपान उपचार तथा पुनःस्थापना केन्द्रमा उपचाररत तिलोत्तमा–८ चार नम्बरका २७ वर्षीय नारायण ढकालको आइतबार मृत्यु भएको हो ।
कात्तिक २५ गतेदेखि पुनःस्थापना केन्द्रमा राखिएका ढकालको केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाटै मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । केन्द्रले भने ढकाल भाग्नका लागि भवनमाथिबाट हाम फाल्ने क्रममा लडेर घाइते भएको र त्यसपछि मृत्यु भएको आफन्तलाई जानकारी गराएको छ ।
पीडितहरूले सुधार केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ उपचारका लागि राखिएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्र रानाले तत्काल ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।’ स्रोतका अनुसार प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित कर्मचारी र उपचाररत बिरामीलाई नियन्त्रणमा लिएको छ ।
पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको र त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको र मृत्यु भएपछि मात्र खबर गरेको बताए । बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल आएका थिए । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो । मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लिने सर्त गरेर पहिलो महिनाको ३० हजार भुक्तानी गरेपछि १३ दिनदेखि राखिएको थियो । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै नदिने चलन रहेछ,’ उनले भने, ‘अन्य कुनै घटनाको जानकारी नै नगराई मृत्यु भएपछि मात्र खबर गरियो । भित्र रहेका अन्य बिरामीले कुटपिट गरेर मारेको जानकारी गराएका छन् ।’
केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायु तथा मोनोरोग अस्पताल पनि संचालन गर्दै आएको छ । घटनापछि अस्पतालका डाइरेक्टर किरण ढकालले मोबाइल स्विच अफ गरेका छन् । अस्पतालका अन्य कर्मचारी सम्पर्कमा आएनन् । मृतक ढकालको उपचारमा संलग्न डा. मौसमी थापाले चलाउने गरेको मोबाइल अस्पतालकै भान्सेले उठाउने गरेका छन् । मृतकका आफन्तले सुधार केन्द्रमा राखिने नयाँ बिरामीलाई पुराना र निको हुँदै गएका बिरामीलाई हेरचाहको जिम्मेवारी दिने गरेकाले त्यही क्रममा विवाद भएर कुटपिट भएको र त्यसपछि मृत्यु भएको दाबी गर्दै आएका छन् ।
