१४ वर्षअघि अपहरित किशोरको अवस्था अझै अज्ञात

नतिजा भने नआएपछि पुनः निराश हुने बाहेक केही नभएको अपहरित किशोरका बुबा रामप्रसाद न्यौपानेले बताए ।

मंसिर ७, २०८२

माधव अर्याल

The condition of a teenager who was kidnapped 14 years ago is still unknown.

What you should know

पाल्पा — १४ वर्षअघि अपहरणमा परेका विद्यार्थी किशोर न्यौपानेको अवस्था अहिलेसम्म अज्ञात छ । तानसेन नगरपालिका–४, बारुदखानबाट बजार जान हिँडेका न्यौपाने अपहरणमा परेका थिए ।

हरेकपटक सरुवा भई जिल्ला प्रमुखले न्यौपाने अपहरण काण्डको फाइल अघि बढेको बताए पनि अहिलेसम्म कुनै नतिजा बाहिर आउन सकेको छैन ।

अपहरणमा परेका विद्यार्थी न्यौपानेको अवस्था सार्वजनिक नगरे थप आन्दोलन चर्काउने बताएका तत्कालीन अवस्थाका विद्यार्थी संगठनसमेत पछिल्ला वर्ष चुपचाप बसेका छन् ।

प्रशासनको लापरबाहीबाट निम्त्याएको घटना हो । न्यौपाने अपहरणका विषयमा प्रहरीको अनुसन्धान ब्यूरोलेसमेत यस मुद्दालाई अनुसन्धान थालेको जनाएको थियो । ‘घटनाका सम्बन्धमा पहिले नै यस विषयलाई गम्भिरतापूर्वक लिएको भए सहज हुन्थ्यो,’ केही महिना अघि सरुवा भई पाल्पा आएका प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले पत्रकारको जिज्ञासामा भनेका थिए, ‘अहिले पनि अनुसन्धान चलिरहेको जानकारी पाएको छु । तर नतिजा भने केही आएको छैन ।’ 

तत्कालीन प्रहरी प्रमुखहरुलेसमेत यस घटनामा चासो देखाएपछि अनुसन्धान अघि बढेको थियो । 

१२ वर्षअघि नै किशोर अपहरण मुद्दाको फाइल बन्द भएको प्रहरीले जनाएको थियो । ९ वर्षपछि पुनः फाइल खुलेको थियो । तत्कालीन प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले अपहरणमा परेका किशोर आफैं भारततर्फ लागेको भन्दै पत्रकार सम्मेलनमा फाइल बन्द गराएको जानकारी दिएका थिए ।

त्यसपछि तत्कालीन प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले अनुसन्धान अघि बढाएका हुन् । 

तत्कालीन प्रहरी नायब उपरीक्षक सुमन कुमार तिम्सिनाले अपहरणको मुद्दालाई गम्भिर रुपमा लिएर अनुसन्धान थालिएको बताएका थिए । यही मुद्दालाई गहन रुपमा लिनका लागि प्रहरीको विभिन्न निकायबाट अनुसन्धान टोली खटिएको थियो । 

नतिजा भने अहिलेसम्म हात लागेको छैन । गम्भिर प्रकृतिको मुद्दा भएकाले धेरै महत्त्वका साथ हेरिएको यहाँ सरुवा भई आउने प्रहरी प्रमुखले बताउने गरेका छन् । फाइल खुलेको जानकारी पाएपछि किशोरका घरपरिवारले केही राहतको महशुस गर्छन् । तर नतिजा भने नआएपछि पुनः निराश हुने बाहेक केही नभएको अपहरित किशोरका बुबा रामप्रसाद न्यौपानेले बताए । 

२०६८ साउन २२ गते अपहरणमा परेका छोराको खोजी कार्य नभएको भन्दै किशोरका बुबा रामप्रसादले धेरै पटक पत्रकार सम्मेलनसमेत गरे । उनले प्रहरी प्रशासनले अनुसन्धानमा सहयोग नगरेको गुनासो गर्दै आएका छन् ।

सुरुका केही दिन किशोरका बुबा रामप्रसादलाई फोनमा पैसाको मोलमोलाई अपहरणकारीले गरेका थिए । उनको अपहरणलाई प्रहरीले रहस्यमयी बताएको थियो । अपहरणकारीले तत्कालीन अवस्थामा एक करोडबाट घटेर १५ लाख फिरौती मागेका थिए । तर अनुसन्धानकै क्रममा एकाएक प्रहरीले किशोर आफैं भारत तर्फ गएको र सम्पर्कमा पछि आउने भन्दै फाइल नै बन्द भएपछि परिवार विक्षिप्त बनेका थिए । 

पूर्वखोला गाउजल्पा घर भएर तानसेन बारुदखान बस्ने किशोरलाई कसले अपहरण गरेको र किन गरेको भन्नेमा अहिलेसम्म रहस्यमयी बनेको हरेक पटक सरुवा भई आउने प्रहरी प्रमुखलाई सञ्चारकर्मीले जानकारी गराउने गरेका छन् । अपहरणपछि एकसातासम्म फिरौती माग्दै आएका अपहरणकारीले ११ दिनपछि फोन गर्न छाडेका थिए । 

‘उसको लाश या सासको बारेमा अहिलेसम्म आँसु बगाउने बाहेक केही जानकारी छैन,’ किशोरका बाबु रामप्रसादले भने । बाबु रामप्रसाद र आमा नुनाकुमारीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत सबै राजनीतिक दललाई निवेदन दिएर प्रहरीले जे भनेको भए पनि अवस्था पत्ता लगाइदिन आग्रह गर्दै आएका थिए । 

जिल्ला तथा केन्द्रमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विद्यार्थी, उद्योगी, प्रशासन, प्रहरी सबैसँग आफ्नो छोराको अवस्था पत्ता लगाउन आग्रह गर्दै आएका छन् । मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सेनाले हरेक पटक प्रहरी प्रमुखलाई आग्रह गरेको बताए ।

‘१४ वर्षदेखि एक जना युवा हराइरहेका छन्, यो दुःखद कुरा हो,’ उनले भने, ‘हुन्छ भन्ने फाइल पल्टाउँछौं भन्ने गर्छन् तर अहिलेसम्म कुनै निचोड आएको छैन ।’ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनका सभापति हरिबोल भट्टराईले तत्कालीन अवस्थामा दबाब दिएको बताए ।

‘प्रहरीले नै अनुसन्धानमा ढिलाई गरेकाले नै समस्या भएको हो,’ उनले भने, ‘धेरै प्रहरी प्रमुख सरुवा भई आउने जाने हुन्छ तर किशोर न्यौपानेको अवस्थाबारे कसैले पनि महत्त्व दिएको जस्तो लाग्दैन ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully