रामपुरको सीताकुण्डमा राम-सीता विवाह उत्सवको तयारी

रामपुर नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न मंसिर ९ गते सीताकुण्डमा भव्य विवाह उत्सव आयोजना गर्दै छ ।

मंसिर ७, २०८२

माधव अर्याल

Preparations for the Ram-Sita wedding celebration at Sitakunda, Rampur

What you should know

पाल्पा — भगवान् राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्व उजागार गर्न पाल्पाको रामपुर नगरपालिकाले मंगलबार राम–सीता विवाह उत्सव मनाउने भएको छ ।

नगरपालिकाले पहिलोपटक विवाह उत्सव मनाउन लागेको हो । विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा हुने राम–सीता विवाह उत्सवलाई भव्य बनाउन तयारी थालिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । 

रामपुर क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रामपुर–५, बाट बेहुला पक्ष भएर जन्त जाने कार्यक्रम छ । त्यस्तै रामपुर–३ र ४ का स्थानीय र सरोकारवालाले माइती पक्षको भूमिका निर्वाह गर्ने नगरप्रमुख थापाले बताए । त्रेतायुगमा भगवान् रामचन्द्र वनबासका क्रममा स्नान गरेको पवित्र भूमि रामपुर–५, स्थित कालीगण्डकी किनारको रामघाटबाट जन्ती निकालिनेछ । रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वला भएको समयमा रामले धनुष वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको रामपुर–३, स्थित सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरेको उनले बताए । 

माइती पक्षले जन्तको स्वागत, मन्दिरको सरसफाइ, खाना तथा प्रसादी व्यवस्थापन गर्नेछन् । जन्तीलाई १२ स्थानमा स्वागत गरिनेछ । बेहुला पक्षका सचिवालय समिति संयोजक एवं रामपुर–५, का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले पञ्चेबाजा र रामपुर नगरभित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकीसहित सीताकुण्ड जन्ती जाने बताए । रामघाटबाट जन्ती निकाल्ने र राम मन्दिरबाट कसार र दहीसहित सगुन खुवाएर जन्ती पठाउने तयारी गरिएको छ । 

मुख्य पण्डित हरिप्रसाद खनालले विवाह पञ्चमीका रामघाटमा यज्ञपश्चात् ९ बजेको शुभसाइतमा चौरासी पूजा गरिसकेका ज्येष्ठ नागरिकबाट जन्तीलाई बिदाइ गरिनेछ । धार्मिक व्यक्तित्वहरु महन्त, पण्डित, बटुकसहितको पैदल सीताकुण्ड जाने कार्यक्रम रहेको उनले बताए । मौलिक परम्पराअनुसार जन्तीलाई सीताकुण्डमा पुगेपछि माइती पक्षले पर्सिने र स्वागतपश्चात् कुण्डमा पण्डितहरुको वैदिक विधिपूर्वक विवाह सम्पन्न गरिनेछ । बालनको माध्यमबाट लोकनाटकमार्फत रामसीताको विवाह उत्सवको प्रदर्शनसँगै अन्य जातीय झाँकी प्रदर्शनी हुनेछ ।

Preparations for the Ram-Sita wedding celebration at Sitakunda, Rampur

रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका धार्मिक स्थल रहेको छ । ‘ऐतिहासिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यसवर्ष पहिलो पटक सीताकुण्डमा विवाह पञ्चमी मनाउन लागिएको हो,’ उनले भने, ‘रामपुर नगरभित्रका महत्वपूर्ण धार्मिक स्थलको संरक्षणसँगै महिमाको प्रचारप्रसार गरी धार्मिक पर्यटनसँग जोड्ने मुख्य ध्येय छ ।’

विवाह उत्सवमा जन्तीसँगै सीताकुण्डसम्म पुग्ने धर्मावलम्बीहरुको सहजताका लागि सडक स्तरोन्नति गरिएको छ । सीताकुण्डमा गाडी पार्किङका लागि व्यवस्थापन गरिएको छ । भगवान् रामले विचरण गरेको पुण्यभूमि भएकाले सोही आधारमा रामपुर नामकरण भएको संस्कृतिविद् बताउँछन् । सीताकुण्ड परिसरमा प्लास्टिकजन्य सामाग्री निषेध गरिएको छ ।

धार्मिक व्यक्तित्व सन्दीप रानाले स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदूतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताए । ‘सीताकुण्डको महिमा छुट्टै रहेको छ,’ उनले भने, ‘अझ अचम्म के छ भने यहाँ भाकल गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ ।’

फरक प्रकृतिको जंगली धान सीताकुण्डमा पाइन्छ । विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्न रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदासमेत दिएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully