नेपालले सन् २०२० मा नै हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने नयाँ लक्ष्य लिएको छ ।
What you should know
कपिलवस्तु — हात्तीपाइले रोगको औषधि खुवाउने अभियान कविलवस्तुमा सुरु भएको छ । आइतबार यहाँ १७ औं पटक यो औषधि ख्वाइएको हो । स्वास्थ्यमन्त्री सुधा शर्माले कपिलवस्तु नगरपालिकास्थित सभा हलमा आफैं औषधि सेवन गरेर मंसिर ७ देखि २१ सम्म चल्ने अभियानको शुभारम्भ गरेकी छन् ।
१६ औं पटक खुवाउँदा पनि रोग निवारण नभएपछि अभियान लम्बिएको हो । यस वर्ष जिल्लाका ६ स्थानीय तहका ३ लाख ७४ हजारलाई औषधि सेवन गराइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जना स्वास्थ्यकर्मी र एक जना महिला स्वयंसेविका घरघर पुगेर औषधि सेवन गराउने छन् ।
पहिला औषधि सेवन गरे पनि नगरे पनि घरमा छाडेर आउने गरिएकामा अब स्वास्थ्यकर्मीको उपस्थितिमा ख्वाएर फर्किने योजना बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । अभियान सकिएको दुई सातापछि अनुगमन टोली पठाएर सोधखोज गरी औषधि नखुवाएको पहिचान गरी औषधि ख्वाउने उनले बताए । अभियान सकिएपछि कम्तीमा दुईपटक सघन अनुगमन गरेर यस पटक जिल्लाबाट हात्तीपाइले रोग निवारण गरिछाड्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।
जिल्लालाई दुई समूहमा बाँडेर १६ औं पटक औषधि ख्वाउँदा बुद्धभूमि, शिवराज र वाणगंगा नगरपालिका तथा विजयनगर गाउँपालिकामा हात्तीपाइले रोग निवारण भएको थियो । त्यहाँ औषधि सेवन गरेको ६ सय ९ जनाको रक्त परीक्षण गर्दा एक प्रतिशतभन्दा कममा हात्तीपाइले रोग पाइएको परजीवी माइक्रो फाइलेरियाको जीवाणु पाइएको थियो । तर, अर्को समूहमा रहेको महाराजगन्ज, कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा यशोधरा, मायादेवी, शुद्धोधन गाउापलिकामा ६ सय ९ जनाको रक्त परीक्षण गर्दा एक प्रतिशतभन्दा बढी (१ दशमलव ३१ प्रतिशत) मा हात्तीपाइले रोगका परजीवी माइक्रो फाइलेरियाका जीवाणु पाइएको थियो । परिक्षण गरिएको रगतमा एक प्रतिशतभन्दा कममा हात्तीपाइले रोगका परजीवी माइक्रो फाइलेरियाका जीवाणु पाइए निवारण भएको मानिन्छ । नभए पुनः ख्वाउनु पर्छ ।
अहिले पनि मुलुकका कपिलवस्तुसहित बाँके, सर्लाही, रौतहट र झापामा हात्तीपाइले रोग निवारण हुन नसेकेको स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए । तर, बजेट अभावमा यस वर्ष कपिलवस्तुमा मात्रै अभियान चलाइएको छ । यसका लागि डब्लूएचओ नेपाल कार्यालयले सहयोग गरेको हो ।
सुरुमा सन् २००७ देखि औषधि सेवनको अभियान चलाइएको जिल्लामा सन् २०१३ मै हात्तीपाइले रोग निवारण हुनुपर्ने थियो । तर, हुन सकेन । उक्त अवधिमा औषधि सेवन गराएर ६ वर्षपछि रगत परीक्षण गर्दा न्यूनतम मापदण्डभन्दा बढी हात्तीपाइलेका परजीवी देखियो । सन् २०१३ मा रगतको नमुना परीक्षण गर्दा ४ दशमलव ७ प्रतिशतमा हात्तीपाइलेका परजीवी देखियो । ४० विद्यालयका २ हजार ६ सय ९२ विद्यार्थीको नमुना रगत परीक्षण गर्दा २७ जनामा हात्तीपाइलेका परजीवी देखिएको थियो ।
नेपालले सन् २०२० मा नै हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको थियो । तर, उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने नयाँ लक्ष्य लिएको छ । तर, उक्त अवधिभन्दा अगाडि नै नेपालबाट हात्तिपाइले रोग निवारण हुने गरी काम गरिरहेको स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी महाशाखाका जनस्वाथ्य अधिकृत रामकुमार महतोले बताए ।
हात्तीपाइले रोगका परजीवीले समस्या नपार्दासम्म केही थाहा हुँदैन । लामखुट्टेबाट सर्ने यो रोग लागेर हातखुट्टा सुन्नियो भने सन्चो हुँदैन । अशक्त र अपाङ्गता भएसरह नै कष्टकर जीवनयापन गर्नु पर्छ ।
चेतना र अशिक्षाका कारण औषधि सेवन नगर्ने प्रवृत्ति बढ्दा हात्तीपाइले रोगका परजीवी बढेको जिल्ला स्वाथ्य कार्यालय प्रमुख ढकालले बताए । सुरुमा पूर्वी नेपालमा औषधि सेवन गरेका व्यक्तिमा विभिन्न समस्या देखिएको हल्ला आएपछि यता औषधि सेवन नगर्ने प्रवृत्ति बढेको स्वास्थ्यकर्मी बताउँछन् । औषधि सेवन गरेपछि गाउँघरमा टाउको दुख्ने, वान्ता आउने र जीउ दुख्न गरेको हल्ला चलेपछि औषधि खाने व्यक्ति पनि हच्किने गरेका थिए ।
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन । यस वर्ष तीन प्रकारको औषधि ख्वाइँदैछ । एलबेन्डाजोल, डीईसी र आइभर मेट्रिन औषधिले हात्तीपाइले रोगविरुद्ध मात्र सुरक्षित नगरेर लुतो र चिलाउने रोग पनि निको स्वास्थ्यकमीहरू बताउँछन् ।
