दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी गराउनेको संख्या शतप्रतिशत छ भने मापदण्डअनुसार ३ पटक सुत्केरी जाँच गराउने ९९ प्रतिशत छन् ।
What you should know
पाल्पा — पाल्पाको तिनाउ गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ । गाउँपालिकाका ६ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी मापदण्डको प्रक्रियाअनुसार घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।
गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा २ सय ७ जना सुत्केरी भएकामा मापदण्डअनुसार चार पटक गर्भजाँच गराउने महिला ९६ प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी भएको संख्या शतप्रतिशत रहेको छ । दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी गराउने महिलाको संख्या शतप्रतिशत रहेको छ भने मापदण्डअनुसार ३ पटक सुत्केरी जाँच गराउने ९९ प्रतिशत छन् ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायतले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरेको हो ।
स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार पालिकाका-१ को कचललाई भदौ ३१, २ दोभान र ३ झुम्सालाई असोज ८, ४ कोलडाँडालाई कात्तिक ३०, ५ लाई साउन २६ र ६ मस्यामलाई भदौ २० गते पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको थियो ।
सम्पूर्ण वडाहरु घोषणा गरिसकेपछि स्थानीय तहलाई घोषणाको लागि जिल्लास्थित स्वास्थ्य कार्यालयमा सिफारिस गरेर पठाउनुपर्छ । जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको प्रतिनिधिले स्थानीय तहको स्थलगत अनुगमन गरेपश्चात् तोकेको मापदण्ड पूरा गरेको प्रमाणीकरण गरी अनुमति प्रदान गरेपछि स्थानीय तह घोषणा गर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख पोखरेलले बताए ।
स्थानीय तहमा रहेको समितिले सुत्केरी संख्याको कम्तीमा १० प्रतिशत घरधुरीको सुलभ सर्वेक्षण गरी तोकअनुसार मापदण्ड पुगेको यकिन गर्नुपर्छ । मापदण्ड पूरा भएको अवस्थामा सम्बन्धित वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा भएको प्रमाणपत्र प्रदान गरेको हुन्छ ।
तिनाउ गाउँपालिकाले प्रोटोकल अनुसारको गर्भजाँचलाई प्रोत्साहन तथा पोषणलाई प्रोत्साहन गर्नका लागि नियमानुसार गर्भजाँच गर्दा अण्डा उपलब्ध गराउने गरेको छ । जुनसुकै स्वास्थ्य संसथमा प्रसूति गराउन जाँदा लाग्ने सम्पूर्ण यातायात खर्च शोधभर्ना दिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । तिनाउ गाउँपालिकामा भौगोलिक जटिलता, छरिएर रहेको बस्ती, चेतनाको अभाव, आर्थिक कारण, स्वास्थ्यप्रतिको वेवास्ता, आदिले गर्दा गर्भवतीहरुलाई नियमानुसारको गर्भ जाँच र संस्थागत सुत्केरीको लागि अझ निरन्तर फलो अप गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।
