समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्लास्टिक बिछ्याएर राखिएको छ । समयमै सडक डिभिजन पाल्पाले पहिरो नियन्त्रणको काम नगर्दा पानी पर्नासाथ सबै सडक खोलामा खस्ने जोखिम बढेको छ।
What you should know
पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तीन स्थानमा खसेको पहिरोको समस्या वर्षौंदेखि समाधान नहुँदा यातायात संचालनमा कठिनाइ भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–५, मस्याम चर्चरे र गौडे पुलनजिक, तिनाउ गाउँपालिका–३, भूतखोला र ३ कै बिसमाइल पुलनजिकै खसेको पहिरोको समस्या समाधान नभएकाले यातायात संचालन गर्न समस्या भएको हो ।
दोभान बजारको बिसमाइल पुलनजिकै दुई वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा छ । राजमार्गको दोभान बजारदेखि नुवाकोट, कचलका साथै पश्चिम भेग जोड्ने पक्की पुल र चुनमाया पार्क जाने नवनिर्मित बक्स कल्भर्ट निर्माणका लागि चौडा गर्दा दुई वर्षअघि खसेको पहिरो समयमा नियन्त्रण नगर्दा जोखिम बढेको स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेयले बताए ।
यही पहिरोले चुनमाया पार्क जाने कल्भर्टका साथै तिनाउ खोलामा निर्मित पक्की पुलतर्फ लेदो र गेग्रेटो बगाएर लगेपछि सामान्य पानी पर्दासमेत पहिरो खस्ने क्रम बढेकाले समस्या झन् बढेको छ । पानी पर्दा राजमार्गको छेउबाट ढुंगामाटोसहितको पहिरो बढ्दै गएपछि सडक डिभिजनले राजमार्ग जोगाउन प्लास्टिक बिछ्याएको छ । लुम्बिनी प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सडक डिभिजनसँग समन्वय नगरीकन काम गर्दा उत्तर–दक्षिण जोड्ने राजमार्ग नै धरापमा परेको हो ।
‘जोखिम आकलन नगरीकन पहुँचको भरमा योजनामा बजेट राखेकै कारण अहिले राजमार्ग नै धरापमा परेको हो,’ तिनाउका स्थानीय केशव खत्रीले भने, ‘अहिले जोखिम बढ्दै जाँदा तिनाउ खोलाको पुललाई समेत क्षति पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।’
बिसमाइल पुलतर्फसमेत माथिल्लो भागबाट पहिरो खसेको छ । सडक विभागबाट कन्सल्ट्यान्टमार्फत पहिरो नियन्त्रणका लागि अध्ययन भइरहेको सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । ‘हामीले तीनवटै पहिरोको अध्ययनका लागि विभागसँग अनुरोध गरेका थियौं,’ उनले भने, ‘सोही अनुसार पहिरो गएको र भासिएको स्थानमा अध्ययन भइरहेको छ ।’
तिनाउ गाउँपालिका–५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा छ । सिद्धार्थ राजमार्गबाट डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ ।
समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्लास्टिक बिछ्याएर राखिएको छ । समयमै सडक डिभिजन पाल्पाले पहिरो नियन्त्रणको काम नगर्दा पानी पर्नासाथ सबै सडक खोलामा खस्ने जोखिम बढेको स्थानीय करण सारले जानकारी दिए । 
सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न गत वर्षको मंसिर महिनामै ठेक्का गरेको थियो । चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ स्टिमेटसहित ठेक्का लगाएको थियो ।
राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भुतखोला नजिकै सडक भासिएको ८ वर्षसम्म पनि समाधान खोजिएको छैन । भासिएकै स्थानमा गत असारमा कालोपत्र गर्ने क्रममा पुनः भासिएपछि अहिले जोखिममा छ । सडक डिभिजनले यसको दिगो समाधान नखोज्दा सधैं जोखिममै सवारी साधन संचालन गर्नुपर्ने बाध्यता रहेको स्थानीय टंक बस्यालले बताए ।
सडक डिभिजन प्रमुख जयसवालले यसपटक सडक विभागको विज्ञ कन्सल्ट्यान्स्मार्फत अध्ययनको काम भइरहेको बताए । भूतखोला क्षेत्रमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको जनाएको थियो । कालोपत्र एकतर्फी नसकिँदै पुनः सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएको छ । कम्तीमा २५ मिटर लम्बाइमा राजमार्ग भासिएको छ । सडक भासिएको स्थानको तल्लो भागमा तिनाउ खोला रहेको छ ।
भासिएकै सडकमा मर्मत गरेर दुईतर्फी सवारी संचालन भए पनि जोखिम कायमै छ । यही स्थानमा सडक भासिएपछि विगतमा सवारी साधन एकतर्फी सञ्चालनमा थियो । सिद्धार्थ राजमार्ग भएर तराईका साथै गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म यही बाटो भएर दैनिक ५ हजार बढी सवारी साधन गुड्छन् ।
