गुल्मीका अधिकांश योजना अलपत्र

जिल्ला प्रशासन कार्यालय गुल्मीले सबै कार्यालयका प्रमुखसँग छलफल गरी समस्याग्रस्त र अलपत्र आयोजनको तथ्यांक ७ दिनभित्र पठाउन भनेको छ ।

मंसिर ६, २०८२

सन्तोष महतारा

Most of Gulmi's plans are stalled

What you should know

गुल्मी — मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको ‘सिमलटारी–सौतामारे–मच्छी’ सडक अलपत्र छ । गुल्मी खण्डको १६ र प्युठान खण्डको १५ किलोमिटर सडकखण्ड निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिए पनि काम भने २६ प्रतिशत मात्रै सकिएको हो ।

३१ किलोमिटर सडक कालापत्रे गर्ने गरी मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास र श्रेष्ठ सक्षम जेभीबीच २०७९ कात्तिक ६ मा सम्झौता भएको थियो । कुल १ अर्ब ४५ करोडमा २०८२ साउन ५ मा निर्माण सक्ने योजना थियो ।

त्यस्तै एक वर्षमा बन्नुपर्ने पक्की पुल चार वर्षसम्म अलपत्र अवस्थामा छ । २०७७ माघ २१ मा सम्झौता भएको इस्मा गाउँपालिका वडा नम्बर ५ कुखुरे खोलामा पक्की पुल २०७८ माघ १७ मा सम्पन्न हुनुपर्नेमा चार वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ ।

पुल निर्माणको लागि सडक पूर्वाधार कार्यालय तम्घास गुल्मी र आत्रेय भुसाल बस्नेत जेभी काठमाडौंबीच २०७७ माघ २१ मा एक वर्षभित्र सक्ने गरी सम्झौता भएको थियो । कुल २ करोड ४३ लाख रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता भएकोमा निर्माण व्यवसायी सम्पर्कविहीन छन् ।

साथै ‘सालझण्डी–सन्धीखर्क–ढोरपाटन’ सडकको गुल्मी खण्डको ४० किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भए पनि काम सुस्त गतिमा छ । गुल्मीको सिर्सेनीदेखि अर्खबाङ्ग हुँदै गंगरेसम्म ८.३ किलोमिटर सडक निर्माणका लागि २०८१ कात्तिक  ७ मा ब्राइट/हिमाल/एमएम जेभीले २०८४ कात्तिक ७ मा सक्ने गरी जिम्मा पाएको छ । जसको २५ प्रतिशत प्रगति भएको छ । यस क्षेत्रमा सडक चौडा, कल्भर्ट निर्माण र स्ट्रक्चर निर्माणका काम छन् ।

त्यस्तै गत वैशाख अन्तिम साता निर्माण कार्य सुरुवात गरिए पनि माटो निकालेर यत्तिकै छाडेपछि चिदिचौर खेलमैदान अलपत्र भएको थियो । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत चिदिचौर खेलमैदान व्यवस्थित गर्नका लागि एक करोड रुपैयाँ लागतमा रामेछाप कन्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । उक्त काम बारम्बार ताकेता गर्दा पनि ठप्प थियो । यद्यपि हाल काम सुरु भएको छ ।

यी मात्रै होइन, गुल्मीमा सञ्चालित अधिकांश योजना अलपत्र अवस्थामा छन् । निर्माणाधीन सडक, कार्यालय भवन, खेलमैदान र पुलका योजना अलपत्र हुनुका साथै केही त ठप्प अवस्थामा छन् ।

यी र यस्तै अलपत्र योजनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सबै कार्यालयका प्रमुखसँग छलफल गरी समस्याग्रस्त र अलपत्र आयोजनको तथ्यांक ७ दिनभित्र पठाउन भनेको छ । सबै कार्यालयले अलपत्र र समस्याग्रस्त आयोजनाको विवरण माग गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । ‘हामीले ७ दिनभित्र विवरण संकलन र १५ दिनभित्र बैठक राख्दैछौं,’ उनले भने, ‘त्यसपछि समस्याग्रस्त कामहरु अगाडि बढ्नेछन् ।’

सन्तोष

Link copied successfully