पालिकाले करार सेवाका कर्मचारी कटौती गरेपछि रोहिणी–१ बगाहा स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्र बन्द भएको हाे ।
What you should know
भैरहवा — रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार दरबन्दीका कर्मचारी कटौती गरेपछि त्यसको असर प्रसूति सेवामा परेको छ ।
कर्मचारी कटौती गरिएपछि रोहिणी–१ बगाहा स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्र बन्द भएको छ । त्यहाँ रहेका बेड र उपकरण खेर गएका छन् ।
उक्त स्वास्थ्य चौकीमा प्रसूति सेवाका लागि फालिकाले करारमा ४ जना कर्मचारी नियुक्त गरेको थियो । यसरी नियुत्त कर्मचारीमध्ये दुई जना प्रसूति सेवाका लागि तालिम प्राप्त नर्स, एक/एक जना स्वीपर र चौकीदार थिए । कर्मचारी कटौती गरिएपछि गत कात्तिक २ गतेबाट प्रसूति सेवा ठप्प भएको हो । उक्त स्वास्थ्य चौकीमा ७ वर्षदेखि यस्तो सेवा उपलब्ध भइरहेको थियो ।
बगाहा स्वास्थ्यचौकी प्रमुख बुद्धिप्रसाद पन्थका अनुसार गत साउनमा नर्सिङतर्फ शान्ता ज्ञवाली, खेमकुमारी महतो, स्वीपर विपतकुमारी नाउ र चौकीदार सुड्डु लोहारको करार अवधि थप भएको थियो । यी कर्मचारीको पारिश्रमिकका लागि पालिकाले वार्षिक २० लाख खर्च गरिरहेको थियो ।
गत असोजमा दुईपटक बसेको कार्यपालिकाको बैठकले खर्च कटौतीका लागि जनाउँदै करार सम्झौता रद्द गरेपछि प्रसूति केन्द्र बन्द भएको पन्थले जनाए । कर्मचारी नभएपछि प्रसूति केन्द्रमा रहेका बेडलगायत उपकरण अलपत्र छन् । स्वास्थ्य चौकीबाट प्रसूति गराउनेबाहेक गर्भवती जाँचलगायत सेवा निरन्तर रहेको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले तराईका जिल्लामा सञ्चालित प्रसूति केन्द्रमा महिनामा कम्तीमा ५ जना सुत्केरी गराउनुपर्ने नियम लागू गरेको छ । ‘यो प्रसूति केन्द्रले कहिल्यै लक्ष्य भेटाएन,’ उनले भने, ‘यहाँबाट २/३ किलोमिटर दूरीमा भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज रहेकालेपनि प्रसूति केन्द्रमा खर्च धेरै उपलब्धि कम देखियो ।’
तर, स्थानीयले महिलाले घरदैलोमा प्राप्त सुविधा बन्द गर्दा आफूहरु मर्कामा परेको बताएका छन् । उक्त वडाका सबै महिलाले सदरमुकाम पुगेर सेवा लिन नसक्ने गर्भवतीको भनाई छ । जटिल अवस्था भएकाबाहेक महिलाले सहज रुपमा पाइरहेको सेवा बन्द गरिनु अन्यायपूर्ण भएको स्थानीयले बताएका छन् ।
स्वास्थ्य चौकीका कर्मचारीले पनि तीन वर्षदेखि वडाका कुनै पनि घरमा सुत्केरी नभएको बताए । जटिल अवस्था भएर ठूला अस्पताल रिफर गर्नुपर्नेबाहेक गर्भवतीले प्रसूति केन्द्रबाट सेवा लिइरहेका थिए । ‘अब घरमै सुत्केरी हुने बढ्छन्,’ स्वास्थ्य चौकीमा कार्यरत एक महिला कर्मचारीले भनिन्,‘घरनजिकै हुँदा अप्ठयारो नमानेर आउँथे ।’ स्थानीयले घरनजिकै प्रसूति सेवा पाउँदा सहज भएको बताए । ‘हामी गरिब मान्छे कसरी मेडिकल कलेजमा गएर बच्चा पाउन सक्छौं,’ रोहिणी–१ की राजकुमारी कोहोरले भनिन्, ‘प्रसूति केन्द्र फेरि सञ्चालन हुनैपर्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले गत असोज २२ र २९ गते बसेको कार्यपालिका बैठकले स्वीकृत दरबन्दीभन्दा बढी भएका कर्मचारी कटौती गर्ने निर्णय गरेको बताए । दुईपटक बसेको कार्यपालिका बैठकपछि अस्थायी र करार सम्झौता गरेर नियुक्त गरिएका ३९ कर्मचारी हटाइएको उनले बताए ।
पालिकाले वार्षिक सेवा प्रवाहका आधारमा कर्मचारी कटौती गरिएको जनाएको छ । स्थानीयले भने पालिका अध्यक्ष विद्याप्रसाद यादवले आफ्नो अनुकुल नभएका कर्मचारी कटौती गरेको भन्दै बिरोध जनाएका छन् ।
