प्रदेश सभा सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै सवारी साधन मर्मतमा ५३ लाख ९८ हजार ६ सय १९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ ।
What you should know
बुटवल — सवारी साधन संचालन तथा मर्मत सम्बन्धी निर्देशिका अभावले लुम्बिनी प्रदेशमा सवारी साधन मर्मत खर्च नियन्त्रण हुन सकेकाे छैन ।
पछिल्लो ६ वर्षमा लुम्बिनी प्रदेश सभा सचिवालयका गाडी मर्मतमा मात्र २ करोड २५ लाख रुपैयाँ बढी खर्च भएकाे छ ।
प्रदेश सभाले अहिलेसम्म सवारी साधन संचालन तथा मर्मत निर्देशिका बनाउन सकेको छैन् । प्रदेश सभाका पदाधिकारी र सदस्यका लागि तोकिएको सेवासुविधा ऐन अनुसार नै सवारी साधन मर्मत तथा संचालन खर्च गरिँदै आएको छ । प्रदेश सभाले त्यही मापदण्डका आधारमा पदाधिकारी एवं सदस्यले पेश गरेको सवारी साधन मर्मत खर्च बिलका आधारमा भुक्तानी गर्दै आएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सवारी साधन मर्मतमा ५३ लाख ९८ हजार ६ सय १९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ । २० वटा सवारी साधनका लागि खर्च भएको यो रकम इन्धनबाहेकको रकम हो । २० वटा गाडी मध्ये सबैभन्दा बढी पूर्वसभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्दै आएको गाडीको खर्च देखिन्छ । उनले प्रयोग गर्दै आएको बीएए १३०१ नम्बरको गाडीको गत आर्थिक वर्षको खर्च ६ लाख १६ हजार ३ सय २६ रुपैयाँ छ । पूर्वसभामुख घर्तीले यो गाडी गत वर्षनै फिर्ता गरेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरे चढ्ने बीएए १३०६ नम्बरको गाडी मर्मतमा ५ लाख ३७ हजार ६ सय ३२ रुपैयाँ खर्च भएको छ । प्रदेश सभा सार्वजनिक लेखा समितिकी सभापति माया पुन चढ्ने बीएए १३०३ नम्बरको गाडीको खर्च ५ लाख १ हजार ६ सय ९२ रुपैयाँ छ ।
कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक चढ्ने बीएए १३०० नम्बरको गाडी मर्मतमा ४ लाख २६ हजार २ सय ४४ रुपैयाँ, माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा चढ्ने लु १ झ ६७९ नम्बरको गाडी मर्मतमा १ लाख ६ हजार ५६ रुपैयाँ खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयले सभामुख तुलाराम घर्ती मगरलाई २ वटा सवारी साधन उपलब्ध गराएको छ । तीमध्ये बा १ झ ९७२९ नम्बरको गाडी मर्मतमा ४ लाख ६९ हजार अर्को प्रदेश ०३–०१–००२ झ ५२४४ नम्बरको गाडी मर्मतमा ८० हजार १ सय ८३ रुपैयाँ एकै वर्षमा खर्च भएको छ ।
सभामुखको सचिवालयमा प्रयोग भइरहेको अर्को बा २ झ २२८४ नम्बरको गाडी मर्मतमा ६९ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिकी सभापति माया पुनले सुविधामा प्राप्त सवारी साधनहरु पुराना भएको र अनुगमनका लागि दुर्गम गाउँसम्म पुग्दा बिग्रने र खर्च बढी देखिने गरेको बताइन् । ‘प्रदेश सभामा सवारी साधन मर्मत खर्च रकम बढेको छ,’ उनले भनिन्, ‘त्यसलाई नियमन गर्नु जरुरी छ । तर, धेरै सवारी साधन पुराना पनि भएको र अनुगमनका लागि दुर्गमसम्म पुग्दा पनि गाडी बिग्रेर बढी खर्च आउने गरेको देखिन्छ ।’
प्रदेशसभा सचिवालयमा अहिले २० वटा ४ पाङ्ग्रे सवारी साधन छन् । यी सवारी मर्मतमा ६ वर्षमा २ करोड २५ लाख रुपैंयाँ भन्दा बढी खर्च भएको छ । प्रदेश सभा सचिवालयका अनुसार सवारी साधनको मर्मतमा २०७६/०७७ मा ४६ लाख ८७ हजार ७ सय ६९, २०७७/०७८ मा ३१ लाख ८७ हजार ४ सय ३५, २०७८/०७९ मा ३० लाख ६४ हजार ५ सय ८६, २०७९/०८० मा २६ लाख ३१ हजार १ सय ८८ र २०८०/०८१ मा ३९ लाख ३३ हजार ७ सय ७१ खर्च भएको छ ।
प्रदेश सभा सचिवालयमा २०८०/०८१ सम्म १५ र २०८१/०८२ देखि २० वटा चार पाङ्ग्रे सवारी साधन छन् । प्रदेशसभाले सभामुख, उपसभामुख, संसदीय समितिका सभापति, संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई चालकसहित सवारी साधन सुविधा उपलब्ध गराउँदै आएको छ ।
संघीय सरकारको सवारी साधन सञ्चालन तथा निर्देशिका २०७२ को ८ नम्बरमा सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीले नयाँ सवारी साधन भए ३ वर्षसम्म मासिक ५ हजार मर्मत सम्भार लागि रकम उपलब्ध गराउने व्यवस्था छ । यस्तै ३ वर्ष भन्दा पुरानाे सवारी साधन प्रयोय गर्ने विशिष्ठ श्रेणीका पदाधिकारीलाई मासिक १० हजार र प्रथम श्रेणीका पदाधिकारीलाई ७ हजार रुपैयाँ मर्मत वापत रकम उपलब्ध गराउने व्यवस्था छ । तर, प्रदेश सरकारले सवारी मर्मत सञ्चालन निर्देशिका अहिलेसम्म पनि बनाउन सकेको छैन् ।प्रदेशको निर्देशिका नहुँदा संघीय सरकारकै निर्देशिका स्वतःलागू हुन्छ । तर, लुम्बिनी सरकारले त्यसलाई पनि कार्यान्वयन गर्न सकेको छैन् ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले गाडी पुराना हुँदै जाँदा खर्च बढी हुने गरेको बताए । ‘माननीयज्यूहरू प्रदेशका धेरै दुर्गम ठाउँमा पुग्नुपर्ने हुन्छ,’ उनले भने, ‘गाडी पुराना हुँदै गएपछि छिटो बिग्रने र खर्च बढी आउने गरेको छ ।’
प्रदेश सभा सचिवालयले खर्च न्यूनीकरणको प्रयासमा लागिरहेको र कानुन निर्माणको तयारी पनि भइरहेको उनले बताए । प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढाले गाडी पुराना भएर यात्रामा आफूले हैरानी भोग्दै आएको दाबी गरिन् । ‘म रुकुम पूर्वकी हुँ । धेरै अफरोड हिँड्नुपर्छ,’ उनले भनिन्, ‘प्रदेश सभाले दिएका गाडी पहाडी बाटोमा हिँड्नै नमिल्ने खालका भएका छन्, बाटोमा गाडी बिग्रिएर धेरै नै दुःख पाएँ ।’ गाडी बाटोमा बिग्रिएपछि खर्च बढी देखिनु स्वभाविक भएको उनले बताइन् ।
कांग्रेस सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले प्रदेशमा आफ्नो आम्दानीको स्रोत न्यून रहेका बेला प्रदेश सभा सदस्यले पनि आफ्नो सुविधा प्रयोगलाई ख्याल गर्नुपर्ने बताए । ‘कस्तो गाडी प्रयोग गर्ने, कुन कुन सुविधा लिने भन्ने प्रदेशको आम्दानीको स्रोत हेरेर गर्ने हो,’ उनले भने, ‘धेरै कुरा प्रदेश सभा सदस्यकै नियतमा भर पर्छ, खर्च कटौती गरौं भन्ने सबैलाई लाग्ने हो भने बचत गर्न पनि सकिन्छ ।’ अनुगमनदेखि अति आवश्यक अवस्थामाबाहेक प्रदेश सभाले उपलब्ध गराए पनि सुविधा लिन्न भन्ने छुट प्रदेश सभा सदस्यलाई रहेको उनले बताए ।
