आमाबुबाको स्मृतिमा अक्षयकोष, ५१ विद्यार्थीलाई छात्रवृति

पहिलो वर्ष अक्षयकोषको ब्याजबाट प्राप्त १ लाख रुपैयाँले कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

मंसिर ४, २०८२

काशीराम डाँगी

रोल्पा — त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा जन्मेर अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका जीवराज बुढाले आफ्ना बुबाआमा र काकाको स्मृतिमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

दुई दशकदेखि अमेरिकामा बस्दै आएका जीवराज, उनकी श्रीमती याशिका, उनका भाइ बुहारी अमृत रदीपाले आफैले अध्ययन गरेको नुवागाउँस्थित अरनिको माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । उनीहरूका बुबाइन्द्रबहादुर, आमा मैसरा र काका दलबहादुर बुढाको स्मृतिमा इन्द्रमैदल अक्षयकोष स्थापना गरेका हुन् ।

पहिलो वर्ष अक्षयकोषको ब्याजबाट प्राप्त रकमले कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयकाप्रधानाध्यापक गणेश घर्तीले बताए ।

उनका अनुसार वर्षमा ब्याजबाट प्राप्त करिब १ लाख रकमबाट नियमित रूपमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको बताए । अक्षयकोषका स्थापना गरेका जीवराज र याशिकाले कान्छा भाइबुहारी अमृत र दिपाले उक्त अक्षयकोषको समन्वय गर्ने बताए ।

अक्षयकोषस्थापना गर्ने कार्यक्रममा अक्षयकोषदाताका साथै विद्यालयका संस्थापक प्रधानाध्यापक कुलानन्द गिरीको समेत उपस्थित थिए । वडा २ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज बुढा एवं विद्यालयका प्रधानाध्यापक गणेशकुमार घर्तीले छात्रवृत्ति वितरण गर्दै अक्षयकोष स्थापनागरेर शैक्षिक सुधारमा सहयोग पुर्‍याउने बताए । अक्षयकोषमार्फत प्रदान गरिने छात्रवृत्तिले विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने सहभागीले बताए ।

अक्षयकोषदाता जीवराज पूर्व पत्रकार एवं मानवअधिकारकर्मी हुन्। अमेरिका जानुअघि उनी सामाजिक कार्यमा समेत सक्रिय थिए । 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully