पाल्पाको देवीनगरमा निरन्तर सुख्खा पहिरो : कोइला मिसिएको पानी प्रयोग नगर्न आग्रह

यहाँ निरन्तर खसेको पहिरो गत चार वर्षदेखि निरन्तर गइरहेको तर यसवर्ष कालो/कोईला सहितको लेदो माटो बग्न थालेको हो ।

मंसिर ४, २०८२

माधव अर्याल

Continuous dry landslides in Devinagar, Palpa: Request not to use water mixed with coal

What you should know

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–४, देवीनगरको उड्डाँडामा खसको पहिरो र त्यहाँबाट बगेको कोइलासहितको पानी प्रयोग नगर्न वडा कार्यालय र टोल विकास संस्थाको संयुक्त बैठकले आग्रह गरेको छ ।

देवीनगरको उडडाँडास्थित लिन्दिगैरामा खसिरहेको सुख्खा (हिउँदे) पहिरोको नियन्त्रण सभ्भावना तथा यसले पारेको र पार्न सक्ने क्षति सम्बन्धमा स्थानीय समुदायसँगको छलफलपछि यस्तो आग्रह गरेको वडाध्यक्ष मेहरसिंह थापाले बताए । 

यहाँ निरन्तर खसेको पहिरो गत चार वर्षदेखि निरन्तर गइरहेको तर यसवर्ष कालो/कोईला सहितको लेदो माटो बग्न थालेको हो । यहाँबाट बगेको पानी सिँचाइ गर्न, वस्तुभाउ तथा मानिसले खान एवं खुवाउन अयोग्य हुने जानकारहरूको भनाइ रहेकोले कालो पानी बगेको बखत प्रयोग नगर्न आग्रह गर्ने निर्णय बैठकले गरेको उनले बताए । 

पहिरो नियन्त्रणका लागि सरोकारावाला निकायसँग सम्बन्वय पहलका लागि टोल विकास संस्थाका संयोजक शेरबहादुर गाहा र स्थानीय अगुवा खेमबहादुर बराललाई जिम्मा दिने निर्णय गरेको छ । कालो लेदो बगेकाले तिनाउ नदी मुहानदेखि माडी क्षेत्रमा बगिरकेको र यो पानी प्रयोग नगर्न र वस्तुभाउलाई नखुवाउन प्रहरीका साथै स्थानीय र जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णय गरेको वडाध्यक्ष थापाले बताए । 

Continuous dry landslides in Devinagar, Palpa: Request not to use water mixed with coal

तिनाउ नदीको तल्लो तटीय क्षेत्रमा रहेको खेत कालोमाटोले पुरी क्षति पुगेको र सोही सडक भएर विद्यालय जाने बालबालिका तथा खेतीकिसानी गर्नेका लागि आवागमनमा घुमाउरो बाटो प्रयोग गर्नु परेको स्थानीय छकलाल गाहाले बताए । 

खानेपानी प्रयोग गर्ने लेमधेम, चिदीपानी तथा उडडाडा क्षेत्रको पानी प्रयोग नगर्नसमेत आग्रह गरिएको छ । वडा कार्यालयले डिभिजन वन कार्यालय, भू तथा जलाधार कार्यालय लगायतका कार्यालयहरुमा स्थलगत निरीक्षण गर्न आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको छ । 

पहिरो नियन्त्रण्का लागि सम्बन्धित कार्यालयलाई बजेट विनियोजन गर्न आग्रह गर्नेसमेत निर्णय गरेको हो । सुख्खा पहिरो खसेको स्थानमा कोइला खानी भेटिएकाले थप समस्या भएको छ । तल्लो क्षेत्रमा कालै कोइलाको लेदो मिसिएको पानी बगेको छ । तिनाउ खोलाको मुहान भएकाले पहिरो खस्दा तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै स्थानीय बासिन्दासमेत विभिन्न समस्या खेप्नु परेको रम्भा गाउँपालिका–४, हुमीका मिलन काफ्लेले बताए ।  

पहिलो यो स्थानमा गोरेटो बाटो थियो । मोटरबाटो खनेपछि पनि दुई वर्ष केही भएन । तीन वर्षअघि थोरै भत्केको थियो । पछि विस्तारै हिउँद तथा वर्षा याममा पहिरो खसेपछि अहिले थप समस्या निम्तिएको छ । यहाँ तत्काललाई समस्या नभए पनि दीर्घकालनमा भने माथिल्लो क्षेत्रमा १२ घरसमेत जोखिममा परेको छ । भिरालो भएको र खस्ने सम्भावना बढी भएकाले सचेत हुनुपर्ने स्थानीय बताउँछन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully