सन्धिखर्क खानेपानीमा दलीय सिन्डिकेट तोड्दै भुसाल विजयी

१ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । बाबुराम भुसालले ५ सय ६३ र युवराज खत्रीले ४ सय ४३ मत ल्याएका छन् । खत्री कांग्रेस कार्यकर्ता हुन् ।

मंसिर ४, २०८२

वीरेन्द्र केसी

What you should know

अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र विजयी भएका छन् । स्वतन्त्र नागिरक समाजका नाममा बाबुराम भुसालले कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई १ सय २० मतले पराजित गरेका हुन् ।

भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । खत्री कांग्रेस कार्यकर्ता हुन् ।

भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र भएका थिए । उनले जिल्लाको कांग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाडेका थिए । ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरेका थिए । त्यस्तै बुधबार साँझ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति निकालेर बाबुरामलाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन उपभोक्तामा ह्वीप जारी गरेको थियो । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए । 

चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर जिताएको र खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार आफूले काम गर्ने नवनिर्वाचित भुसालले बताए । ‘सबै उपभोक्तालाई शुद्ध पानी खुवाउँछौं,’ उनले भने, ‘हरेक ठाउँमा श्रमदान गर्नेछौं ।’

दुईवटा विज्ञप्तिप्रति दलले सिन्डिकेट लगाउन खोजेको भन्दै उपभोक्ता आक्रोशित बनेका थिए । जिल्लामा रहेका रहेक सामाजिक संघसंस्थामा दलका शीर्ष नेता मिलेर भागबन्डा गर्ने र आफू नजिकैका कार्यकर्तालाई पद बाँड्ने दलीय परम्परा एवं सिन्डिकेट सन्धिखर्कका खानेपानीमा तोडिएको स्थानीय युवा कमल भुसालले बताए ।  

भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी भए । जेन–जी आन्दोलनपछि घिमिरेले एमाले र क्षेत्रीले कांग्रेस परित्याग गरेका थिए । उपाध्यक्षमा गठबन्धनबाट भेषबहादुर क्षेत्री, सचिव जीवलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल विजयी भए । सदस्यहरूमा गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी भए । लेखा समिति संयोजकमा गठबन्धनकै सुनिता बेल्वासे विजयी भइन् । 

सो संस्थाबाट सदरमुकामको सन्धिखर्क, चुत्रावेशी लगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully