भारतबाट बिरामी बंगुर आयात भएको अनुमान
परासी — पश्चिम नवलपरासीको परासी हाटबजारमा बिक्रीका लागि राखिएको बंगुरको मासुमा अफ्रिकन स्वाइन फिभर भेटिएको छ। हाटबजार अनुगमनका क्रममा बुधबार मासु परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।
प्रारम्भिक परीक्षणपछि काठमाडौं पठाइएको पीसीआर रिपोर्टले पनि संक्रमण पुष्टि गरेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका प्रमुख दीपक भुसालले भने, ‘बजारमा अव्यवस्थित तरिकाले मासु बिक्री भइरहेको भेटिएपछि नमुना संकलन गरिएको हो। संक्रमण पुष्टि भएको र केही किसानको पालन गरेको बंगुर मरेको कारण अहिले सबैमा सर्तकता अपनाउन आग्रह गरिएको छ।’
जिल्लामा हालसम्म करिब १०० बंगुरको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। खुल्ला सिमानाका कारण भारतबाट बिरामी बंगुर आयात भएर काटिएको हुन सक्ने अनुमान गरिएको छ। प्रशासनले बिरामी बंगुर काटेर बिक्री नगर्न चेतावनी दिएको छ।
