आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा बर्दियामा थप दुई जना पक्राउ

पक्राउ परेकाविरुद्ध प्रहरीले आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा कारबाही सुरु गरिएको बताएको छ ।

मंसिर ३, २०८२

कमल पन्थी

Two more people arrested in Bardiya on charges of arson, vandalism, and robbery

बर्दिया — गत भदौ २४ गतेको प्रदर्शनको क्रममा विभिन्न पार्टी कार्यालय, नगरपालिकाको कार्यालय र पूर्वमन्त्रीको घरमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले थप दुई जनासहित चार जनालाई पक्राउ गरेको छ ।

जेन–जीको आन्दोलनका नाममा पूर्वमन्त्री संजयकुमार गौतम, कांग्रेस, एमाले पार्टी कार्यालय र गुलरिया नगरपालिकाको कार्यालयको घर आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाविरुद्ध प्रहरीले आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा कारबाही सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले पक्राउ पर्नेमा गुलरियाका २५ वर्षीय अरसद पठान र त्यही पालिकाका ३१ वर्षीय नदिम शेषसहित चार जना रहेको बताए । उनीहरुविरुद्ध प्रहरीले आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत, बर्दियाबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिर भाइरल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । उक्त घटनामा संलग्न १६ जनाविरुद्ध मुद्दा दायर गरिएको डीएसपी मल्लले जनाए । एक महिना अघि प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेपनि उनीहरुलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully