डिम्मुरगैराको तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनका रूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यहाँ बैठकको आयोजना गरिएको पालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष टीकासाई घर्तीले बताए ।
What you should know
रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकाको ४७औं कार्यपालिका बैठक वडा नं. ६ डिम्मुरगैरास्थित तातोपानीको मुहानछेउमा बसेको छ । पालिका अध्यक्ष पुणिराज घर्तीको अध्यक्षतामा बसेको बैठकबाट पर्यटन विकासका लागि विभिन्न निर्णय गर्नुका साथै तातोपानीमा निर्माण गरिएका भौतिक संरचनाको उद्घाटन पनि गरिएको हो ।
डिम्मुरगैराको तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनका रूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यहाँ बैठकको आयोजना गरिएको पालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष टीकासाई घर्तीले बताए । यस अवसरमा संघीय सरकारको ससर्त बजेटअन्तर्गत कुल ९० लाख लगानीमा तातोपानी क्षेत्रमा बनाइएका विभिन्न भौतिक संरचनाको पनि पालिका अध्यक्ष घर्तीले उद्घाटन गरेको प्रवक्ता घर्तीको भनाइ छ ।
बैठकबाट तातोपानी संरक्षण तथा व्यवस्थापन ऐन २०८२ अनुसार ६ नं. वडाका अध्यक्ष चंखे सेनको संयोजकत्वमा तातोपानी व्यवस्थापन समिति गठन गर्ने, आगामी माघ १ गते तातोपानी स्वास्थ्य पर्यटन महोत्सवको आयोजना गर्ने, गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी यसको प्रवर्द्धन गर्न योगदान पुर्याउने विभिन्न क्षेत्रका ६ जना व्यक्तिलाई सम्मान गर्ने र पर्यटकीय स्थलहरूसम्म आवतजावत गर्न पदमार्गहरू लगायतका विभिन्न भौतिक संरचना निर्माण गर्न आवश्यक पहल गर्ने आदि निर्णयहरू गरिएको प्रवक्ता घर्तीले बताए ।
सानीभेरी नदीको समिपमा रहेको यो तातोपानीको मुहान तकसेराबाट हुकाम–मैकोटतर्फ जाने सहिद मार्गदेखि केही तल रहेको छ । प्रचार–प्रसारको कमीका कारण त्यति चर्चामा नआएको यो स्थलमा पर्यटक भित्र्याउनका लागि पालिकाको पहलमा संघीय सरकारमार्फत शौचालय, कपडा फेर्ने कोठा र नुहाउनका लागि फराकिला कुण्ड निर्माण गरिएको पालिका अध्यक्ष घर्तीको भनाइ छ ।
‘अब हामी यसलाई प्रचारप्रसार गरेर यस भेगमा आउने पर्यटकलाई तातोपानीको आनन्द लिनका लागि आवश्यक वातावरण बनाउन लागिपरेका छौं,’ उनले भने ।
