धान खरिदका लागि कोटा लागू गरेपछि मर्कामा किसान

खाद्यले भण्डारण समस्या देखाउँदै सीमित कोटामा धान खरिद गर्ने बताएपछि आफूहरू मर्कामा परेको किसानहरू बताउँछन्

मंसिर २, २०८२

रूपा गहतराज

Farmers in trouble after quotas for paddy procurement implemented

What you should know

नेपालगञ्ज — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसँगै कोटा लागू गरेपछि किसानहरू मर्कामा परेका छन्  ।

यस वर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र खरिद गर्ने भएपछि उनीहरू मर्कामा परेका हुन्  ।

 जानकी गाउँपालिका-२ का रामकिशोर वर्माले गत वर्षको तुलनामा यस वर्ष उत्पादन पनि बढे पनि अवस्थामा खाद्यले भण्डारण समस्या देखाउँदै सीमित कोटामा धान खरिद गर्ने भएपछि आफूहरू मर्कामा परेको बताए । 

‘यस वर्षको धान बिक्री नहुने चिन्ताले सताएको छ,’ उनले भने, ‘उत्पादन बढेको छ । बाहिर व्यापारीले सरकारी मूल्यमा खरिद गर्दैनन् । राख्नलाई घरमा ठाउँ पनि छैन कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ ।’

राप्तीसोनारी-७ का किसान कालुराम थारुले धान बिक्रिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड आइपुग्दा कोटा सकिएकोले धान खरिद नहुने भन्ने जवाफ पाएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले धान मूल्य निर्धारण गरी आइतबारदेखि मात्रै किसानबाट धान खरिद सुरु गरिएको बताए  । कम्पनीले यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण भएको बताए । उनले भने, ‘हामीले हाम्रो भण्डारण गर्ने क्षमताको आधारमा धान सरकारी मूल्यमा खरिद गर्ने हो ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा बसेको खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरेको हो ।

रूपा

Link copied successfully