दलित महिला जनप्रतिनिधिले बनाए जिल्लास्तरीय साझा मञ्च

आठ जना सदस्यसहित ११ जनाको जिल्ला कार्यसमिति गठन भएको हो ।

मंसिर २, २०८२

रामप्रसाद चौहान 

Dalit women representatives form district-level common platform

बर्दिया — दलित महिला जनप्रतिनिधिहरूको जिल्लास्तरीय साझा मञ्च गठन भएको छ । जिल्लास्थित आठवटै पालिकाका महिला जनप्रतिनिधिलाई समेटेर साझा मञ्च गठन गरिएको हो ।

मंगलबार गुलरियामा सम्पन्न भेलाले चन्द्रकला विकलाई संयोजक, विमला परियारलाई सह-संयोजक र पूजा सुनारलाई सचिवमा चयन गरेको छ । यस्तै आठ जना सदस्यसहित ११ जनाको जिल्ला कार्यसमिति गठन भएको छ ।

स्थानीय तहमा दलित जनप्रतिनिधिलाई दलित महिलाका सवालमा एकीकृत गरी उनीहरूबीच एकता, समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले जिल्लास्तरीय साझा मञ्च गठन गरिएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताइन् ।

‘दलित सशक्तीकरण विधेयक निर्माणमा उहाँहरूको पैरवी रहन्छ,’उनले भनिन्,‘दलित सशक्तीकरण विधेयकसँगै योजना निर्माणका साथै बजेट विनियोजनका लागि गाउँ-गाउँमा सचेतना फैलाउन साझा मञ्चको आवश्यकता परेको हो ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully