निर्वाचन समितिका अनुसार बुधबार दुई प्यानलबीच चुनाव हुँदैछ । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले प्रेस विज्ञप्ति जारी गर्दै खत्रीलाई जिताउन कांग्रेस समर्थित खानेपानी उपभोक्ता तथा ग्राहकलाई उर्दी लगाएका हुन् ।
What you should know
अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अधिवेशनमा कांग्रेस अर्घाखाँचीले अध्यक्षका उम्मेदवार युवराज खत्रीको नेतृत्वमा रहेको टिमलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।
मंगलबार संस्थाको छैटौं अधिवेशन उद्घाटन भएको छ । निर्वाचन समितिका अनुसार बुधबार दुई प्यानलबीच चुनाव हुँदैछ । सो संस्थाबाट सदरमुकाम बजारमा पिउने पानी वितरण हुँदै आएको छ ।
कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले प्रेस विज्ञप्ति जारी गर्दै खत्रीलाई जिताउन कांग्रेस समर्थित खानेपानी उपभोक्ता तथा ग्राहकलाई उर्दी लगाएका हुन् । खत्री कांग्रेस कार्यकर्ता हुन् । उनीसहितको नौ सदस्यीय समिति र तीन सदस्यीय लेखा समितिमा चार दलीय भागवण्डा गरी पद बाँडफाँट गरी उम्मेदवार सार्वजनिक गरेका छन् । सोमबार सन्धिखर्क नगरका कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राजमोका प्रमुख नेताले प्रेस विज्ञप्ति जारी गरेर खत्री नेतृत्वको टिमलाई मतदान गरिदिन अपिल गरेका थिए ।
स्वतन्त्र नागरिक समाजका नाममा बाबुराम भुसालको नेतृत्वमा रहेको टिमलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका छन् । भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित साधारण सदस्यसमेत त्याग गरेको घोषणा गरेका थिए ।
कांग्रेसका श्रेष्ठ र गौतमद्वारा जारी विज्ञप्तिमा पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका बाबुराम भुसालले आफू कांग्रेसमै रहेको भन्दै भोट माग्दै हिँडेको आरोप लगाएको छ । दुवै समूहलाई समर्थन गरेका राजनीति दलले अस्तित्व रक्षाको लडाइँ भन्दै उपभोक्तासँग लबिइङ गरिरहेका छन् ।
