खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरमा अघिल्ला वर्षको चामल नबिकेर गोदाममै थन्किएको हो ।
What you should know
बर्दिया — निजी क्षेत्रको भन्दा बढी मूल्य भएपछि सरकारी स्वामित्वमा रहेका खाद्य कम्पनीको चामल बिक्रि नभएर गोदाममै थन्किएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरमा अघिल्ला वर्षको चामल नबिकेर गोदाममै थन्किएको हो ।
सरकारको पूर्णस्वामित्वमा रहेको कम्पनीले किसानको धान समर्थन मूल्यमा किनेर चामल उत्पादन गरी कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा पठाउँदै आएको छ । पछिल्लो समय ती जिल्लामा मोटो र मध्यम चामलको माग घट्दा गोदाममै थन्किएको छ ।
सरकारले तोकेको समर्थन मूल्यमा खाद्यले किसानको धान खरिद गर्छ भने निजी क्षेत्रले सस्तोमा खरिद गर्छ । खाद्यले महँगोमा धान खरिद गरी चामल उत्पादन गर्दा लागत नै महँगो पर्ने भएकाले मूल्य बढी हुने गरेको छ ।
सरकारी स्वामित्वमा रहेको खाद्यको भन्दा निजी क्षेत्रले सस्तोमा चामल उपलब्ध गराउँदा खाद्यको चामल बिक्न छोडेको हो । यस्तै अन्तर्राष्ट्रिय बजारबाट निर्बाध रुपमा भित्रिँदा खाद्यको चामल गोदाममा थन्किएको छ ।
अघिल्ला वर्षमा खरिद गरिएको धानबाट उत्पादित २५ हजार क्विन्टल चामल गोदाममा मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरमा प्रमुख कमलराज पाण्डेले बताए । ‘अघिल्लो वर्षको २० हजार क्विन्टल भन्दा बढी धान कुटानी गर्न बाँकी छ । पुरानो धान–चामलले गोदाम भरिँदा अहिले खरिद गरिएको धान राख्न समस्या भइरहेको छ,’ प्रमुख पाण्डेले भने,‘सम्बन्धित निकायले नागरिकलाई सहुलियत दिएर खाद्यान्न उपलब्ध गराउने वातावरण बनाएको खण्डमा चामल खपत हुने आपेक्षा छ । गोदाम खाली नभएपछि तत्कालका लागि स्थानीय तहसँग गोदाम व्यवस्थापनको माग गरी खरिद गरिएको धान राखिरहेका छौं ।’
आर्थिक वर्ष ०८१/०८२ मा ३७ हजार ९ सय क्विन्टल धान खरिद गरिएको थियो । त्यसअघिको वर्षमा खरिद गरिएको धानबाट उत्पादित ३० क्विन्टल चामल गत आर्थिक वर्षमा हिमाली तथा पहाडी जिल्लामा पठाइएको कम्पनीले जनाएको छ ।
यो वर्ष माटो धानको समर्थन मूल्य ३ हजार ४ सय ६३ र मध्यमको ३ हजार ६ सय २८ रुपैयाँ तोकिएको छ । चालु आर्थिक वर्षमा जिल्लाभरि ३० हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएको कम्पनीले जनाएको छ । हाल गुलरिया, बारबर्दियाको जयनगर, गेरुवा गाउँपालिकाको शान्तिबजार र मुख्य कार्यालय राजापुरमा धान खरिद भइरहेको छ । सोमबार सम्म १५ हजार १ सय ७० क्विन्टल धान खरिद भइसकेको कम्पनीले जनाएको छ ।
