देशलाई संवैधानिक बाटोमा हिँडाउन प्रतिनिधिसभा पुन:स्थापना र संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी अर्ली इलेक्सनमा जान भने सकिने एमाले महासचिव पोखरेलको जिकिर ।
What you should know
बुटवल — नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ को निर्वाचनको पैरवी नै नगर्ने बताएका छन् । उनले निर्वाचन हुने वातावरण नै तयार नगरेको र सरकारको ध्यान पनि निर्वाचनलाई निष्पक्ष बनाउनेतर्फ नरहेको तर्क गरे ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा महासचिव पोखरेलले विश्वासयोग्य वातावरण बनेको अवस्थामा भने एमाले चुनावबाट नभाग्ने पनि दाबी गरे । ‘नहुने निर्वाचनको पार्टीले पैरवी किन गर्ने ?,’ उनले भने, ‘सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ छैनन्, निर्वाचन आयोगले भन्दैमा चुनाव हुन्न ।’ केही राजनीतिक दलले जेन–जी रिसाउलान् भन्ने डरले चुनाव चुनाव भनेको उनले बताए । यो सरकार चुनाव गराउनका लागि नबनेको पनि उनको दाबी थियो ।
‘एमालेको स्पष्ट अडान छ । यो सरकार चुनावका लागि होइन, निर्वाचन गराउँदा पनि गराउँदैन । २०५९ जस्तो वैधता नपाउने चुनावको अर्थ छैन,’ उनले भने, ‘चुनावको लागि महत्त्वपूर्ण शक्ति प्रहरीको हतियार खोसिएको र त्यसले कमजोर बनेको प्रहरीको मनोबल उकास्ने काममा सरकारले ध्यान दिएकै छैन ।’ कैदीबन्दी र प्रहरीका लुटिएका हतियारले त्रसित बनेको नागरिक समाज र प्रहरी डरको मनोविज्ञानबाट बाहिर ननिस्कँदासम्म चुनाव हुने सम्भावना नरहेको उनको भनाइ थियो ।
राजनीतिक दलसँग संवाद र छलफल गर्न नखोज्नुले पनि सरकारले चुनाव गराउन चाहँदैन भन्ने स्पष्ट रहेको पोखरेलको दाबी थियो । अहिलेको चुनौतीपूर्ण क्षणको निकास प्रतिनिधिसभा पुनःस्थापना भएको पनि उनले स्पष्ट पारे । पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर अहिलेको चुनौतीपूर्ण अवस्थाको निकास प्रतिनिधिसभा पुनस्थापना भएको तर्क गरे ।
देशलाई संवैधानिक बाटोमा हिँडाउन प्रतिनिधिसभा पुनसंस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्वोधन गरी अर्ली इलेक्सनमा जान सकिने उनले बताए । संसद् पुनःस्थापना सडक र अदालत दुवैले गर्न सक्ने इतिहास रहेको पोखरेलले बताए ।
पोखरेलले भदौ २३ र २४ गतेको घटना फरक फरक व्याख्या गरिएको बताउँदै त्यो सही नभएको जिकिर गरे । ‘त्यो आन्दोलनमा रास्वपाको पार्टी कार्यालय कतै जलेनन्, काठमाडौं महानगरको प्रमुख प्रशासनिक भवनमा केही भएन । वडा कार्यालयहरूमा आगजनी भयो, राष्ट्रपति भवन जल्यो तर निर्मल निवासमा केही भएन,’ उनले भने, ‘यसबाट पनि थाहा हुन्छ आन्दोलनका नाममा विध्वंश मच्चाउनेहरू को को थिए ?’ संसद् पुनःस्थापनाको माग लिएर एमाले आन्दोलनमा गएपछि पार्टीमा उत्साह देखिएको उनको दाबी थियो ।
